मनोरंजन

चलचित्र पेन्सनपट्टा : सम्झनामा बाँच्नेको कथा

चलचित्रको सङ्गीत पक्ष निकै रुचाइएको छ । ‘जुनी जाला’ बोलको गीत पर्दामा आउँदा दर्शकमा छुट्टै उत्साह देखिन्छ । सिनेम्याटिक रूपमा यो चलचित्र अब्बल बन्नबाट चुकेको छ । केही दृश्यमा लिपसिङको सामान्य प्राविधिक त्रुटिको महसुस हुन्छ । प्राविधिक क्षेत्रमा केही सीमितता र कमजोरी रहे तापनि चलचित्र युवापुस्ताले बिर्संदै गएको रैथाने संस्कृतिलाई बुझ्ने आँखीझ्याल बनेको छ ।

कास्की । पूर्वभारतीय सैनिकको निधनपछि पेन्सनपट्टामा देखिएको नामको त्रुटि र त्यसको समाधान खोजमा आउने उतारचढावको चलचित्र हो ‘पेन्सनपट्टा’ । ‘पेन्सनपट्टा’ एउटा लाहुरेको मात्र कथा नभई लाहुरे परिवारका सन्तानले भोगिरहेका फरक फरक समस्या र सामाजिक परिवेशलाई समेट्ने प्रयास गरेको छ । चलचित्रले युद्ध लड्न गएको लाहुरेको अनिश्चित भविष्य र घरमा प्रतीक्षा गरिरहेकी श्रीमती वा परिवारको मानसिक तनावलाई ऐतिहासिक सन्दर्भसहित चित्रण गरेको छ । समग्रमा ‘पेन्सनपट्टा’ केवल भूपू लाहुरेको कथा मात्र होइन, यो प्रेम गुमाएर जीवनभर छटपटिएर सम्झनामा बाँच्नेको कथा पनि हो ।

पूर्वभारतीय सैनिक गङ्गाबहादुरको निधनपछि उहाँकी कान्छी श्रीमती छलमाया र छोरा राजन (दहायाङ) पोखरास्थित पेन्सन क्याम्प पुग्दा रेकर्ड फाइलमा छलमायाको नामको सट्टा अर्कैको नाम भएको रहस्य खुल्छ । चलचित्रको मुख्य द्वन्द्व र यात्रा यहीँबाट सुरु हुन्छ कि पेन्सनपट्टामा रहेको नाम कसको हो ? पेन्सनको अधिकारका लागि जेठीआमा खोज्न राजन यात्रामा निस्कन्छन् । त्यो यात्रामा के हुन्छ ? कस्ता समस्या आइ पर्छन् ? यी यस्ता विषयभित्र चलचित्रको कथा घुमेको हुन्छ ।

चलचित्रले विगतमा लाहुरेहरूले गाउँमा एउटा र बाहिर वा अर्की विवाह गर्दा सिर्जना भएका जटिलता, पारिवारिक विखण्डन र बहुविवाहको समस्यालाई चलचित्रले समावेश गरेको छ । घरको मुख्य कमाउने व्यक्तिको निधनपछि पेन्सन अड्किँदा परिवारले भोग्नुपर्ने चरम आर्थिक अभाव, बुवाले छाडेर गएका कागजी अस्पष्टताका कारण जेठी र कान्छीका सन्तानबिच कानुनी लडाइँ जस्ता यथार्थलाई चलचित्रले उजागर गरेको छ ।

चलचित्रले गुरुङ संस्कृतिलाई बिर्सन सकेको भने छैन । निर्देशक माओत्से गुरुङ आफैँ पनि यो संस्कृतिसँग नजिक रहेकाले गुरुङ समुदायमा रहेको धागो बाँध्ने, मामाकी छोरी विवाह गर्ने, रोधीलगायत सांस्कृतिक पक्षलाई चलचित्रमा समावेश गरेका छन् । चलचत्रिमा लाहुरे आउँदा वा गाउँका युवकयुवती भेला भएर गाउने र नाच्ने रोधी संस्कृतिका दृश्य, मायाप्रेमका क्रममा ‘पछ्यौराले बाटो छेक्ने’ परम्परा, सम्बन्ध स्थापित गर्ने प्रतीकका रूपमा रहेको ‘धागो बाँध्ने’ संस्कार जस्ता सांस्कृतिक आयामलाई देखाइएको छ ।

गङ्गाबहादुरको छोरा बनेर दयाहाङ राईले गरेको अभिनय चलचित्रको प्रमुख आकर्षणमध्ये एक हो । मालाको भूमिकामा रहेकी गौमाया गुरुङको अभिनय शालीन देखिन्छ । चालकको भूमिकामा रहेका विल्सनविक्रम राईले पात्रलाई न्याय दिनुभएको छ । जेठीआमाको भूमिकामा रहेकी पशुपति राई, बुद्धि तामाङ, स्वर्गीय सुनील थापा, पुष्कर गुरुङ, सुरज गुरुङ, मनोज गुरुङ र प्रतीक्षा गुरुङ जस्ता कलाकारको चरित्र निर्माणले चलचित्रलाई पूर्णता दिएको छ ।

चलचित्रको सङ्गीत पक्ष निकै रुचाइएको छ । ‘जुनी जाला’ बोलको गीत पर्दामा आउँदा दर्शकमा छुट्टै उत्साह देखिन्छ । सिनेम्याटिक रूपमा यो चलचित्र अब्बल बन्नबाट चुकेको छ । केही दृश्यमा लिपसिङको सामान्य प्राविधिक त्रुटिको महसुस हुन्छ । प्राविधिक क्षेत्रमा केही सीमितता र कमजोरी रहे तापनि चलचित्र युवापुस्ताले बिर्संदै गएको रैथाने संस्कृतिलाई बुझ्ने आँखीझ्याल बनेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्