एक्सक्लुसीभ

शीतल निवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको कर्फ्यू क्षेत्र विस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले पछि कर्फ्यू विस्तार गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू लगाएको हो । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले विज्ञप्तिमार्फत शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाउनुभएको छ।

त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ।

प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर (तीनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासन कार्यालयले आज २३ गते अपराह्न १ देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जनाएको हो।

यसअघि प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.