श्रद्धा कपूरको चलचित्र ‘ईथा’को जी जी रे जी गीतले सामाजिक संजाल तात्यो
मुम्बई। श्रद्धा कपुरको आगामी चलचित्र ‘ईथा’को पहिलो गीत ‘जी जी रे जी’ आज सार्वजनिक गरिएको छ। यद्यपि, सामाजिक सञ्जालमा यो गीतलाई लिएर मिश्रित प्रतिक्रियाहरू देखिएका छन्। कतिपय दर्शकले श्रद्धाको प्रस्तुति र गीतको रचनाको आलोचना गरेका छन् भने, अरूले यसको बचाउ गर्दै चलचित्र हलमा पूरै दृश्य हेर्दा मात्र यसको वास्तविक अनुभव लिन सकिने बताएका छन्।
गीत सार्वजनिक भएलगत्तै, धेरै प्रयोगकर्ताहरूले एक्समा आफ्ना विचारहरू व्यक्त गरे।
एक प्रयोगकर्ताले ‘लावणी’ नृत्यमा श्रद्धाको प्रस्तुतिको आलोचना गर्दै लेखे, “प्रियंका चोपडा, विद्या बालन वा कुनै पनि प्रतिभाशाली मराठी अभिनेत्रीले ‘#जीजीरेजी’ र ‘#ईथा’लाई उत्कृष्ट वा यादगार बनाउन सक्थे। लावणी नृत्यलाई शालीनता, भावभंगीमा र यस कलाको उचित बुझाइका साथ प्रस्तुत गर्नु भनेको यस्तो हुन्छ। श्रद्धा कपुरले त यसको १ प्रतिशत पनि प्रस्तुत गर्न सकिनन्।”
अर्का एक प्रयोगकर्ता यो गीतबाट निराश भए र लेखे, “‘ईथा’को पहिलो गीत निकै निराशाजनक छ। श्रद्धा कपुरको ऊर्जावान नृत्यका बाबजुद, यो गीतले कुनै खास प्रभाव पार्न सकेको छैन। यसको संगीत दोहोरिरहे जस्तो लाग्छ, शब्दहरूमा दम छैन र समग्र रचना पनि खासै प्रभावशाली छैन।”
तेस्रो प्रयोगकर्ताले यस गीतको पृष्ठभूमि संगीतलाई ‘बाजीराव मस्तानी’ सँग तुलना गर्दै लेखे, इथा चलचित्रको जिजिरेजी गीतको समीक्षा :- यसको सुरुवात एउटा राम्रो संवादबाट हुन्छ, तर लगत्तै यो फिक्का र निराशाजनक लाग्न थाल्छ। गीतका शब्द र पृष्ठभूमि संगीत कमजोर छन्, जसले ‘बाजीराव मस्तानी’ को धेरै याद दिलाउँछन्।”
यद्यपि, सबैजना यो आलोचनासँग सहमत थिएनन्। गीतको प्रस्तुतिलाई बचाउ गर्दै एक प्रयोगकर्ताले लेखे, “सम्पूर्ण नृत्य र संगीत एउटा सानो मञ्चीय कलात्मक नाट्य दृश्यमा आधारित छ; यसलाई कुनै बलिउड ‘मसाला’ गीतको रूपमा हेर्नु हुँदैन। समग्रमा गीतले आफ्नो उद्देश्य पूरा गर्छ र चलचित्रको मूल विषयवस्तुसँग राम्ररी मेल खान्छ। खोट खोज्नेहरूले जब हलमा यो पूरै लामो दृश्य हेर्नेछन्, तब उनीहरूले वास्तविकता बुझ्नेछन्।”