खेलकुद

प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उपाधि आयोजकलाई

झापा । नेपालमा ओझेलमा रहेको हक्की खेललाई उजागर गर्दै प्रवर्द्धन गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको ‘प्रथम अन्तर्राष्ट्रिय नकआउट 5S हक्की प्रतियोगिता २०८३’ को उपाधि आयोजक भद्रपुर नगर हक्की सङ्घको टिमले जितेको छ ।

आज भएको फाइनल खेलमा भारतको आरके रोय अफ हक्की एकेडेमी भारतलाई ४–२ गोल अन्तरले अन्तरले पराजित गर्दै भद्रपुरले पहिलो उपाधिमा कब्जा जमाएको हो ।

उपाधिसँगै भद्रपुर नगर हक्की सङ्घले रु. २ लाख नगद, शील्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाउनु परेको आरके रोय अफ हक्की सङ्घले रु. एक लाख नगदसहित शील्ड तथा मेडल प्राप्त गरेको छ ।

भारतको वैशाली हक्की टिमले तेस्रो स्थान हासिल गरेको छ । वैशालीले नगद ५० हजारसहित शील्ड प्राप्त गरेको छ ।

विजेता भद्रपुरले सेमिफाइनलमा वैशाली भारतलाई पराजित गरेको थियो भने उपविजेता आरके रोयले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको यो प्रतियोगितामा विजेताको पुरस्कार भद्रपुर ८ स्थित ओम साई पाथीभरा हस्पिटलका संस्थापक अध्यक्ष दिपक पोखरेलले सौजन्य गरेका थिए भने उपविजेताको पुरस्कार रकम झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष युवा उद्यमी राजकुमार राईले सौजन्य गरेका हुन् । यस्तै तेस्रो पुरस्कारको सौजन्य स्थानीय समाजसेवी परमानन्द मिश्रले उपलब्ध गराएका हुन् ।

विधागततर्फ फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम भद्रपुरका रतन विनोदले प्राप्त गरे । यसैगरी उच्च गोलकर्ताको पुरस्कार विजेता टोली भद्रपुरका सुदीप चौधरीले प्राप्त गरे । उनले प्रतियोगितामा सर्वाधिक १० गोल गरे । उत्कृष्ट गोलकिपर भद्रपुरकै विष्णु घिमिरे भए भने उत्कृष्ट डिफेण्डरको पुरस्कार उपविजेता टिम आरके रोयका मोहम्मद सिद्धिकी भए भने उदीयमान खेलाडीको उपाधि भद्रपुरकै आर्यन राजवंशीले हात पारे । व्यक्तिगत पुरस्कारको राशि नगद ५ हजार रहेको थियो ।

यसैगरी, फेयर प्ले टिमको पुरस्कार पोखरा गण्डकीको टिमले जित्यो । उसले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्‍यो ।

राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेलको साङ्गीतिक प्रस्तुतिका साथ आयोजित समापन समारोहमा विजेता टोलीहरूलाई प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, ९ नं वडाध्यक्ष रामप्रसाद दाहाल, मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अनुज खतिवडा, पुरस्कार सौजन्यदाता ओम साई पाथीभरा हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साइराम), राजकुमार राई, प्रमानन्द मिश्रलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

भद्रपुर नगर हक्की सङ्घको आयोजनामा शुक्रबार सुरु भएको प्रतियोगिता पहिलो दिन प्रतिकूल मौसमका कारण दोस्रो दिन शनिबार उद्घाटन गरिएको थियो । आयोजक संघका अध्यक्ष सरोजकुमार बस्नेतको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गर्नुभएको थियो ।

भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा भारतका तीन, विभागीयसमेत नेपालका ६ टिम र आयोजक एक टिम गरी १० टिमको सहभागितामा थियो । खेल लिग कम नकआउट विधिमा खेलाइएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्