नेपाल

सडक भासिएपछि पाल्पाको आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड अवरुद्ध

पाल्पा । कालीगण्डकी करिडोर निर्माण हुनु अघि पाल्पाको पूर्वी भेगको जीवनरेखाको रुपमा परिचित आर्यभञ्ज्याङ–रामपुर सडकको जब्गादी–सिलुवा–बेलडाँडा खण्ड एक महिनादेखि अवरुद्ध छ । गएको असोज ८ देखि ११ गते सम्म परेको अविरल वर्षाका कारण निस्दी गाउँपालिका–५, गल्धाको रिङ्दीमा सडक भासिएपछि सडक अवरुद्ध भएको हो ।

सडकको १३० मिटर भन्दा बढी सडकको भाग जग देखिनै भासिएपछि मर्मत हुन नसक्दा जिल्लाको पूर्वी भेगका स्थानीयले सास्ती खेप्नुपरेको छ । जिल्लाको निस्दी गाउँपालिकाका पाँचवटा वडा तथा रामपुर नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दाका लागि आवतजावतको महत्वपूर्ण मार्गको रुपमा रहेको सडक जिल्लाकै पुराना सडकमध्येको एक हो । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको रामपुर–कपुरकोट सडक खण्ड अन्तर्गत आर्यभन्ज्याङ–जब्गादी–रामपुर खण्ड रहेको छ ।

वर्षा पश्चात पनि सडक भासिने क्रम जारी रहेकाले तत्कालै ट्रयाक खुलाउन नसकिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख सागर मरासिनी बताउनुभयो । उहाँले भन्नुभयो, “सडक भासिएपछि सुरुवातमा जाँदा दुई मिटर तल सम्म सडक भासिएको थियो । क्रमश भासिदै जाँदा अहिले सडक ५ मिटर तल सम्म पुगेको छ । त्यसैले नयाँ ट्रयाक खोल्न ढिलाई भएको हो ।” कार्यालयले तत्कालको लागि एकतर्फ सडक सञ्चालन गर्न नयाँ ट्रयाक खोल्ने योजना अघि बढाए पनि तीन दिन वर्षाको सम्भावना रहेकाले काम सुरु हुन नसकेको उहाँले बताउनुभयो ।

सडक भासिएको खण्डमा पुरै डाँडा नै चर्किएकाले दिर्घकालीन समस्या समाधानका लागि भौगर्भिक अवस्था अध्ययन गरेर मात्र आवश्यक उपाय अपनाउनुपर्ने अवस्था रहेको मरासिनीको भनाइ छ । सडक किन भासिएको हो र पुनः सञ्चालनमा ल्याउन कस्तो संरचना आवश्यक पर्छ भन्ने विषयमा प्राविधिक अध्ययनपछि मात्र भन्न सकिने बताउनुभयो । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले यस सडकसँगै जिल्लामा जमिन भासिएको तथा चर्किएको स्थानमा भौगर्भिक अवस्था अध्ययनका लागि माग गर्ने निर्णय गरेको छ ।

साना सवारीका लागि सडक भासिएको स्थानबाट रिङ्दी–पाक्दी हुँदै बेलडाँडा जाने, पूर्वखोला–१ को बैछाप, लोस्दी, निस्दी ५ को नामसुर्घा, पाक्दी हुँदै बेला डाँडा जोड्ने सडक मर्मत गरी सञ्चालनमा ल्याएको निस्दी–५ का वडा अध्यक्ष दुर्गा बहादुर सोमैले जानकारी दिनुभयो । भासिएको खण्डमा जोखिम कायमै रहेको छ । सडक भासिएको स्थान भन्दा ५० मिटर माथि देखि सडकको ५० मिटर तल सम्मको डाँडा नै चर्किएको वडा अध्यक्ष सोमैले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा समेटेको भए पनि सडकको स्तरोन्नति, मर्मतसम्भार र विपद्का कारण क्षति पुगेका संरचनाको पुनर्निर्माणमा पर्याप्त बजेट तथा प्राथमिकता नदिएको स्थानीयको गुनासो छ ।

प्रतिनिधिसभा सदस्य सन्दीप रानाले आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक जिल्लाको पूर्वी भेगको जीवनरेखा संगै प्रमुख रणनीतिक सडक भएको बताउनुभयो । सडक भासिएर भएको समस्या समाधानका लागि भुगर्भविद्हरु बाट अध्ययन गरी दिर्घकालीन समाधान खोज्नु आवश्यक रहेको बताउनुभयो । तल्लो क्षेत्रमा रहेका मानव बस्ती तथा खेतीयोग्य जमिनमा समेत क्षति नपुग्ने गरी पुग्न नहुने उहाँको भनाई थियो ।

सडक निरीक्षणका लागि पुग्नु भएका रानाले आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक जिल्लाको पूर्वी भेगको जीवनरेखा भएको भन्दै यस सडकलाई लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा राखेर मात्र नहुने बताउनुभयो । उहाँले आवश्यक बजेट विनियोजन नभए अर्को कुनै सडकको नाम दिएर भए पनि सङ्घीय सडक कार्यालयले स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । ‘यो सडक प्रदेश अन्तर्गतको रहेपनि आर्यभन्ज्याङदेखि रामपुर भिमाद हुँदै पृथ्वी राजमार्ग संग जोडिने भएकाले नयाँ नाम दिएर भए पनि बजेट व्यवस्थापन गर्नुपर्नेछ ।’ रानाले भन्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्