एक्सक्लुसीभ

सप्तरीमा नेपाल–भारत सिमाबाट हरायो ४७९ सीमास्तम्भ

सप्तरी। सप्तरीसँग जोडिएको नेपाल–भारतसीमाबाट अधिकांश सीमास्तम्भ हराएको छ । जिल्लाअन्तर्गत रहेको ७८ किलोमिटर सिमामा रहेको ६४९ सीमास्तम्भमध्ये ४७९ वटा सीमास्तम्भ हराएको हो ।

सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराजस्थित कार्यालयमा आयोजना गरेको “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो तथ्याङ्क सार्वजनिक भएको छ ।

सप्तरीका १८ मध्ये ७ पालिका भारतीय सीमासँग जोडिएकोमा त्यसमध्ये ५ पालिकाका प्रमुख र वडाध्यक्ष तथा सरोकारबालाको सहभागितामा आयोजित कार्यक्रममा स्वागत गर्दै सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीका गणपति प्रहरी उपरीक्षक रोशन वुढाथोकीले नेपाल–भारत सीमाअन्तर्गत सप्तरीका दशगाजा क्षेत्रमा अहिले १७० वटा सीमास्तम्भ मात्र रहेको जानकारी दिनुभयो ।

सीमा अपराध तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतीय सीमासँग जोडिएका पालिकाका जनप्रतिनिधि, नागरिकि अगुवा तथा सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रियामा उहाँले ६४९ वटा सीमास्तम्भ हुनुपर्नेमा अहिले १७० वटा मात्र रहेको जानकारी दिनुहुँदै कायम रहेका कतिपय सीमास्तम्भ पनि जिर्ण अवस्थामा रहेकाले मरमत गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

“दशगजा क्षेत्रमा कतिपय पिलर भाँचेको, बाढीले बगाएको तथा हराएको पाइएकाले आवश्यक बजेटको व्यवस्थापन गरी साविककै ठाउँमा नयाँ सीमास्तम्भ राख्ने पहल थालिएको छ,’’ उहाँले भन्नुभयो ।

सीमा अपराध नियन्त्रण, सीमासुरक्षाको महत्व र सीमावासीको समस्याको पहिचान तथा सुझाव सङ्कलन गरी आवश्यक रणनीति बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमका सहभागी अधिकांश वक्ताले दशगजा क्षेत्रमा हराएका सीमास्तम्भको पुनर्निर्माणमा जोड दिनुका साथै चोरी तस्करी, लागुऔषध ओसारपोसार नियन्त्रण तथा लामो समयदेखि बन्द रहेका सप्तरीका छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, विभिन्न वडाका वडाध्यक्ष तथा सञ्चारकर्मीहरुले सीमाक्षेत्रका समस्या ल सुझाव राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमले दशगाजा क्षेत्रबाट भाँचेका, बाढीले बगाएका र हराएका सीमास्तम्भहरु पुनर्निर्माण र मर्मतका लागि आफुहरुले विभागमार्फत पहल थालेको र छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.