चङ्खेली गाउँपालिकामा मौसमी फ्लुबाट चार जनाको मृत्यु
हुम्ला। तीन हप्ता यता कडा खाले रुघाखोकीको प्रकोपले चङ्खेली गाउँपालिकामा चार जना बिरामीको मृत्यु भएको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेको मौसमी फ्लुका रुपमा कडा खाले रुघाखोकी लागेपछि उहाँहरुको मृत्यु भएको हो ।
उक्त गाउँपालिका–६ को मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाले कडा खाले रुघाखोकीको प्रकोपको कारण हालसम्म चार जनाको मृत्यु भएको बताउनुभयो । मृत्यु हुने ४५ वर्षदेखि ५९ वर्षका बिरामीहरु रहनु भएको उहाँले बताउनुभयो । मृत्यु हुनेमा चङ्खेली गाउँपालिका दार्मा, भट्टेवाडा, देवकोटावाडा र नेक्पा गाउँका स्थानीय रहनुभएको छ । उहाँका अनुसार रुघाखोकी लागिसकेपछि बिरामीहरुले सामान्य हेलचक्र्याई गरेकै कारण मृत्युको मुखमा पर्नुपरेको हो ।
उहाँका अनुसार बिरामीलाई शरीर, छाती, टाउको, हातखुट्टा, घाँटी दुख्ने, ज्वरो आउने, खुट्टा झमझमाउने, खोकी लाग्ने गरेको छ । बिरामीहरु दैनिक पन्द्र बीस जना स्वास्थ्य चौकीमा आउने र उपचारका साथै सावधानीका उपायहरु समेत बताउने गरिएको उहाँले बताउनुभयो । आफ्नो गाउँपालिका सवै वडामा यो कडा खाले रुघाखोकीका बिरामीहरु बढ्दै गएको उहाँको भनाइ छ । यो समस्या जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली, सर्केगार्ड, खार्पुनाथ गाउँपालिकामा पनि उस्तै रहेको छ । उपचारका लागि स्वास्थ्य चौकीमा पुगेर घर फिर्ता भएर छतमा पल्टि रहेको देखिनु सामान्य जस्तै भएको सर्केगार्ड गाउँपालिका– ५ की बसन्ती शाहीले बताउनुभयो । रुघाखोकी निक्कै कडा भएको कारण बिरामीले दुःख पाई रहेको उहाँले बताउनुभयो ।