नेपाल

अँध्यारो सुरुङभित्रको ‘हेलो…. हेलो…’ र जीवनको खोजी

भदौ १० मा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले धेरैको जीवनमा दुःख र निराशा ल्याएको छ । तर, यही कठिन समयमै नेपाली सेनाको टोलीले सुरुङभित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेर आशा जगाएको छ ।

रामहरि न्यौपाने, त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा परेर धेरै नागरिक हराइरहेका छन् । कतिपय परिवार आफ्ना आफन्त फर्किने आशामा दिन गन्दैछन् भने कतिपयले शव समेत फेला पार्न नसकेपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने पीडा भोगिरहेका छन् ।

यही निराशाबीच शुक्रबार बिहान माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रको सुरुङबाट आएको एउटा सानो आवाजले भने फेरि आशा जगायो । ‘हेलो… हेलो….’ सुरुङभित्र फसेका व्यक्तिको खोजीमा खटिएको नेपाली सेनाको टोलीका लागि त्यो आवाज जीवनको सङ्केत थियो । उद्धार टोलीका प्रमुख, प्रमुख सेनानी गङ्गा बरालले सुरुङ भित्रतर्फ आवाज दिँदै ‘कोही हुनुहुन्छ…?’ भनेर सोध्दा उताबाट आएको त्यही मधुरो आवाज ‘हेलो…. हेलो….’ले लामो समयदेखि अँध्यारो सुरुङभित्र खोजी गरिरहेको टोलीमा नयाँ उत्साह थप्यो ।

त्यसलगत्तै उत्साहित हुँदै “हामी आउँदै छौँ है १ चिन्ता नगर्नुहोस्, नेपाली सेना उद्धार गर्न आउँदै छ”, बरालले सुरुङभित्र रहेका व्यक्तिलाई हौसला दिनुभयो ।

त्यसपछि उद्धार टोलीको प्रयासलाई अझ तीव्र बनाइयो । करिब एक घण्टाको निरन्तर प्रयासपछि सुरुङभित्र फसेका दुई जनालाई सकुशल बाहिर ल्याउन नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजको विपद् व्यवस्थापन टोली सफल भयो ।

माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रमा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाहको शुक्रबार बिहान करिब ९ः३५ बजे र मेकानिकल सुपरभाइजर कवीरजङ्ग महर्जनको १०ः०५ बजे सकुशल उद्धार गरिएको हो ।

यस उद्धारबाट दुई जनालाई सुरुङबाट बाहिर निकाल्नु मात्र थिएन । बाढीका कारण निराश बनेका परिवार र आफन्त एवं शुभचिन्तकलाई आशाको खबर थियो । अँध्यारो सुरुङभित्र जीवन खोज्दै नेपाली सेनाले गरेको निरन्तर प्रयासमा यो ठूलो सफलता थियो ।

उद्धारको नेतृत्व नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालले गर्नुभएको थियो । उहाँको नेतृत्वमा नेपाली सेनाको स्पेशल फोर्स, विपद् व्यवस्थापनको खोज तथा उद्धार टोली, प्राविधिक इञ्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत् आयोजनाका विज्ञ तथा भौगोलिक इञ्जिनियर उदय न्यौपानेसहितको संयुक्त टोली परिचालन भएको थियो ।

एक ‘सिफ्ट’मा १८ जनाका दरले टोली परिचालन गरी सुरुङभित्र खोजी गरिएको थियो । सुरुङ रहेको स्थान पत्ता लगाउनु नै पहिलो चुनौती बनेको थियो । सुरुङको प्रवेश बिन्दु पहिचान भएपछि त्यहाँ भरिएको लेदोले थप अवरोध सिर्जना गरेको थियो । त्यसपछि सोही बिन्दुभन्दा करिब १० मिटर अगाडि अर्को होल खोपेर उद्धार टोली सुरुङभित्र प्रवेश गरेको थियो ।

उद्धार टोलीका प्रमुख बरालका अनुसार सुरुङ पहिल्याउन सक्ने अवस्था नै नरहेकाले खोजीमा केही समय लागेको थियो । तर, निरन्तरको प्रयासपछि टोलीले आशा गरेको परिणाम प्राप्त गर्‍यो ।

सुरुङको होल खोपेर भित्र प्रवेश गर्नसक्ने भएसँगै बिहीबार साँझ ६ः०० बजेदेखि खोज तथा उद्धारलाई तीव्र बनाइयो । खाना खाइसकेपछि टोली काममा खटिएको थियो । आवश्यक उपकरण लिन आवतजावत गर्नुपरे पनि खोज तथा उद्धारको काम रोकिएन । करिब ११ घण्टासम्म निरन्तर प्रयास गरेपछि टोलीले सुरुङभित्र जीवन भेट्टायो ।

“बिहीबार साँझ ६ः०० बजेदेखि काम सुरु गरेका थियौँ । खाना खाइसकेर काम सुरु गरेकाले निरन्तर काम गरेका थियौँ । केही इक्युपमेन्ट लिन आवतजावत गरियो, अन्यथा निरन्तर ११ घण्टा खोज तथा उद्धारकर्मीको प्रयासमा सफलता पायौँ”, प्रमुख सेनानी बरालले भन्नुभयो ।

उद्धार टोलीले सुरुङ पहिचानपश्चात् सङ्लो पानी देखेपछि टोलीमा आशा अझ बलियो बनाएको थियो । सुरुङभित्र रहेका व्यक्तिलाई जीवितै बाहिर ल्याउन सकिन्छ भन्ने विश्वासका साथ टोलीले कामलाई चौबिसै घण्टा जारी राख्दै आएको थियो ।

“जीवन ल्याउन सकिन्छ भन्नेमा आशा राखेर नै काम गरेका हौँ । हामीले टनेल प्रवेशको होल खोपेर भित्र पस्दा सङ्लो पानी देखेपछि अझै उत्साहित भएका थियौँ”, बरालले भन्नुभयो ।

उहाँको अनुसार उद्धारकर्मीले सुरुङभित्रको अवस्था कठिन बनेमा प्रयोग गर्नेगरी अक्सिजन साथमै राखिएको थियो । तर, उद्धारका क्रममा त्यसको प्रयोग परेन ।

दुई जनाको सकुशल उद्धारपछि उद्धार टोलीका प्रमुख बरालका लागि यो व्यक्तिगत रूपमा पनि विशेष अनुभूतिको पल बन्यो । लामो समयको जोखिमपूर्ण प्रयासपछि नेपाली उद्धारकर्मी र नेपाली प्राविधिकसहितको टोलीले प्राप्त गरेको सफलताले उहाँमा नेपालीले गर्न सक्छन् भन्ने आत्मविश्वास अझ बलियो बनायो ।

“एकदमै सक्सेस अनुभूति । एउटा विशेष के छ भने नेपालीले पनि केही गर्न सक्दो रहेछ है १ यत्तिको संरचनामा नेपाली उद्धारकर्मी, नेपाली विज्ञ संलग्न टिमले चाहना गरेको उच्चतम सफलता पाएको हो । गर्न खोज्यो भनेदेखि र एउटा स्वच्छ भावनाबाट गर्छु भन्ने भावना भयो भनेदेखि नेपालीले पनि गर्न सक्ने रहेछ”, बरालले भन्नुभयो ।

यो सफलता कुनै एक जनाको प्रयासले मात्र सम्भव भएको होइन । कठिन भूगोल, लेदो र अँध्यारो सुरुङका बीच नेपाली सेना, प्राविधिक र विज्ञहरूको संयुक्त प्रयासबाट यो सम्भव भएको हो । त्यसको नेतृत्व गर्दै सुरुङभित्र जीवनको खोजीमा निरन्तर खटिनुभएका प्रमुख सेनानी बराल र उहाँको टोलीका लागि यो क्षण विशेष रह्यो ।

अँध्यारो सुरुङभित्रबाट आएको ‘हेलो… हेलो….’ को आवाजले उनीहरूलाई जीवन अझै त्यहाँ रहेको सङ्केत दिएको थियो । त्यही सङ्केतलाई पछ्याउँदै नेपाली सेनाको टोली अघि बढ्यो र अन्ततः दुई जनालाई जीवितै बाहिर ल्यायो ।

दुई जनाको सकुशल उद्धारले आशा जगाए पनि सुरुङभित्र जीवन खोजिरहेको उद्धार टोलीले एक जनाको शव फेला पारेको प्रमुख सेनानी बरालले जानकारी दिनुभयो । उक्त शवको पहिचान हुन बाँकी छ ।

माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रका अनुसार भोटेकोशीको बाढीपछि आयोजनामा कार्यरत ४६ जना कर्मचारी सम्पर्कविहीन छन् । सुरुङभित्र अझै रहेका व्यक्तिको अवस्था यकीन भइसकेको छैन । नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले खोज तथा उद्धारको कामलाई निरन्तरता दिइरहेको छ ।

भदौ १० मा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले धेरैको जीवनमा दुःख र निराशा ल्याएको छ । तर, यही कठिन समयमै नेपाली सेनाको टोलीले सुरुङभित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेर आशा जगाएको छ ।

यो उद्धारले जस्तोसुकै कठिन अवस्थामा पनि निरन्तर प्रयास गरे जीवन बचाउन सकिन्छ भन्ने देखाएको छ । प्रमुख सेनानी गङ्गा बरालले भने झैँ, दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने नेपालीले कठिनभन्दा कठिन काम पनि गर्न सक्छन् । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्