नेपाल

एक हजार ३३१ शव फेला, पाँच हजार अझै सम्पर्कविहीन

विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट तीन हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा तीन हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन् ।

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेलापरेको छ । पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् ।

बाढीबाट ठुलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब एक हजार ९६७ जना, नुवाकोटबाट करिब दुई हजार ३४० जना, ५८९ जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी १०० जना रहेका छन् । बेपत्ताको सङ्ख्या ठुलो रहेकाले खोजी तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार हजार १६२, नेपाल प्रहरीले चार हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा चार हजार ८७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ । यस्तै, हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म पाँच हजार ९२९ जनाको उपचार गरिएको प्रवक्ता महतले बताउनुभयो ।

विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट तीन हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् । बाढी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा तीन हजार ९८२ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेको जनाइएको छ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठुलो मानवीय तथा भौतिक क्षति गरेपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्