मनोरंजन

‘अन्तिम गीत’ मा वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलको प्रस्तुति

काठमाडौँ। नेपथ्यमा मधुरो सङ्गीत बजिरहेको छ । केहीबेरमै धिपधिप उज्यालो बल्यो र तत्क्षण मञ्चमा देखिनुभयो एक वयोवृद्ध । आफ्नै जीवनको अतीत सम्झिँदा उहाँ घरी मुस्कुराउनुभयो, घरी भावुक हुनुभयो, घरीघरी त आँखाबाट पर पर पुगुँझैँ गरी आँसु पनि बग्यो ।

कमलपोखरीस्थित रुसी सदनमा प्रस्तुत भएको नाटक ‘अन्तिम गीत’ मा वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलको अभिनयले दर्शकलाई मोहित मात्रै बनाएन, कारुणिकसमेत बनायो । असोज २ गतेदेखि ५ गतेसम्म प्रस्तुत भएको नाटकमा पोखरेल र सब्बु गुरुङले अभिनय गर्नुभएको छ ।

रुसी साहित्यकार आन्तोन चेखभद्वारा लिखित एकाङ्की नाटक ‘अन्तिम गीत’ (द स्वान सङ, १८८७) लाई महेश पौड्यालले नेपालीमा अनुवाद गर्नुभएको हो ।

पोखरेल आफैँले बाँचेको जीवनझैँ लाग्ने उक्त नाटकमा रङ्गमञ्चमा दर्शकले दिएको प्रेम क्षणिक मात्रै हुने र जीवन एक्लै, छटपटीमा बाँच्नुपर्ने विषयमा केन्द्रित छ । कथा अनुसार अभिनेताले आफ्नो लामो रङ्मञ्चीय यात्रातर्फ फर्केर हेर्नुहुन्छ र आफ्नो जीवनलाई चिह्नित गर्दै त्याग, निराशा र क्षणिक विजयलाई स्मरण गर्नुहुन्छ ।

नाटकका अनुवादक पौड्याल भन्नुहुन्छ, “अनुवाद शब्दको मात्र होइन, बरु एउटा तिक्त अनुभूतिको अनुवाद भइरहेको छ । जहाँ म आफैँ पनि छु ।” विशेष गरी तिक्तताभित्र उज्यालो आशालाई पनि नाटकमा समावेश गरिएको उहाँले बताउनुभयो ।

“नेपाली पाठकका लागि दी स्वान सङ रङ्गमञ्चमा एक्लै छोडिएको एक वृद्ध रुसी अभिनेताको कथा मात्र नहुन सक्छ,” उहाँले भन्नुभयो, “यो संसारको ध्यानभन्दा लामो समयसम्म आफ्नो कलाप्रतिको समर्पण बोकेर हिँड्ने नेपाली कलाकारहरूको जीवनमाथिको एउटा चिन्तनका रूपमा पनि पढिन सक्छ ।”

निर्देशक नवराज बुढाथोकीका अनुसार नाटक एउटा कलाकारको अन्तिम रातको कथा मात्र होइन, उसको सम्पूर्ण रङ्गयात्रालाई फर्केर हेर्ने एउटा भावुक क्षण हो ।

उहाँले भन्नुभयो, “मञ्चमा सम्पूर्ण जीवन बिताएको एउटा रङ्गकर्मी जब बिदाइको सँघारमा पुग्छ, त्यतिबेला ऊसँग बाँकी रहन्छन्– उसले अभिनय गरेका पात्रहरूका संवाद, सम्झना, अधुरा सपना र कलाप्रतिको प्रेम । अन्तिम गीत त्यही हो ।”

आन्तोन चेखभ आधुनिक विश्व साहित्य र नाटकमा गहिरो प्रभाव पार्ने रुसी नाटककार तथा कथाकार हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्