त्रिभुवनराजपथ भासियो, एकतर्फी सुचारु
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका –९ अघोर बजारनजिक त्रिभुवनराजपथको सडक भासिएपछि यातायात प्रभावित भएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटमा सडकको तल्लो भाग भासिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भासिएको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडक भासिएपछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सडक विभागसँग समन्वय गरी भासिएको स्थानमा अस्थायी ट्रयाक निर्माण गर्ने पहल गरिरहेको उहाँले बताउनुभयो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर खण्डमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा राजमार्ग भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि काठमाडौँ जाने मालवाहक सवारीसाधनका लागि त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न भनिएको थियो भने फर्कने सवारी साधनलाई कान्ति लोकपथ प्रयोग गर्न भनिएको थियो ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण कृष्णभिरमा पृथ्वी राजमार्ग भासिएपछि अवरुद्ध सडक १० औँ दिनमा आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो । भासिएको सडकलाई नजिकैको भिरतर्फ डाइभर्सन गरी पुनस्र्थापना गरेपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
त्रिभुवनराजपथमा पछिल्लो समय सवारीसाधनको चाप बढेकाले सडक भासिएको हुन सक्ने स्थानीय शम्भु अधिकारीले बताउनुभयो । प्रहरीले यात्रा गर्दा सावधानी अपनाउ आग्रह समेत गरेको छ ।