नेपाल

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा रु २५ करोड २५ लाख बराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूल लाइन, शाखा पाइपलाइन तथा खानेपानीका धारासमेत बाढीले बगाएको छ ।

उहाँका अनुसार गोसाईंकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षति भएका छन् । ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् । त्यसैगरी उत्तरगया गाउँपालिकाका वडा नं। ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको विभागले जनाएको छ ।

कैदलटार, सिम्ले मुहान र बाँसथलसिम लगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको छ । बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण तथा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्