डायस्पोरा

दिपेश सापकोटाको नेतृत्वको टिमले जित्यो इंग्ल्यान्डमा उमेर समूहको क्लब राष्ट्रिय उपाधि

लन्डन । क्रिकेटको प्रतिष्ठित मैदान इंग्ल्यान्डको लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेशनल कपको उपाधि जितेको छ।

फाइनलमा क्यारिङटनले ६४ रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो।

उनले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर २ विकेट लिए भने एक खेलाडीलाई रनआउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश ‘म्यान अफ द सिरिज’ घोषित भए।

गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन्। उनले नटिङहमशायर काउन्टीको युवा संरचनाबाट क्रिकेट खेल्न्दै आएका छन्। १४ वर्षकै उमेरमा नटिङहमशायर एकेडेमीमा छनोट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन्।

दिपेशको सफलताले नेपाली मूलको दोस्रो पुस्ता फुटबल, क्रिकेटलगायत खेलकुद तथा शिक्षा, व्यवसाय, प्रविधि र अन्य क्षेत्रमा विश्वस्तरमा अघि बढिरहेको सन्देश दिएको छ।

यस्ता अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली युवाको प्रतिभालाई विश्वसामु चिनाउनुका साथै नेपालको सकारात्मक पहिचान र देशको विश्वव्यापी प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ऐतिहासिक लर्ड्स मैदानमा दिपेशलाई हौसला दिन १६० भन्दा बढी बेलायतवासी नेपाली तथा एनआरएनहरू उपस्थित थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत उपस्थित एनआरएनहरूले दिपेश र सापकोटा परिवारलाई बधाई तथा शुभकामना दिएका थिए। नेपाली समुदायको उत्साहपूर्ण उपस्थितिले दिपेशको ऐतिहासिक सफलतालाई थप विशेष बनाएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्