डायस्पोरा

नेपाललाई संसारकै सबैभन्दा समृद्ध र शान्त देश बनाउन सकिन्छ : उपेन्द्र महतो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाललाई विश्वकै सबैभन्दा समृद्ध र शान्त देश बनाउन सकिने बताएका छन् । एनआरएनएको १२औँ तथा एकताको महाधिवेशनलाई सम्बोधन गर्दै डा.महतोले गैरआवासीय नेपालीहरूसँग देशलाई समृद्ध बनाउने बौद्धिक, आर्थिक, शारीरिक र मानसिक क्षमता रहेको दाबी गरे।

‘नेपाल तपोभूमि, देवभूमि र सुन्दर भूमि हो। संसारको सबैभन्दा समृद्ध, सबैभन्दा सभ्य, शान्त र सुन्दर देश बनाउन सकिने देश नेपाल हो,’ उनले भने, ‘हामीले सङ्कल्प गर्‍यौँ भने छोटो समयमै नेपाल धेरै समृद्ध र शान्त हुन सक्छ।’

आफूले व्यक्तिगत रूपमा जतिसुकै ठुलो सफलता प्राप्त गरे पनि देश समृद्ध नभएसम्म त्यसको कुनै अर्थ नहुने महसुस गरेरै एनआरएनए अभियान सुरु गरिएको उनले स्मरण गराए। तर, २३ वर्षपछि पनि सबै गैरआवासीय नेपालीहरू एकै ठाउँमा उभिन नसकेको भन्दै उनले दुः ख व्यक्त गरे।

‘२३ वर्ष पछाडि फेरि एकताको कुरा गरिरहँदा खाली हल देखेर र पसिना–रगत बगाएर सारा संसारलाई बनाइरहेका तर आफ्नो देश बनाउन आतुर भएका साथीहरू यहाँ उपस्थित हुन नसकेको देखेर मेरा आँखाबाट आँसु छचल्किरहेको छ,’ उनले  भने।

डा. महतोले विदेशमा रहेका नेपालीहरूले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरकै रेमिट्यान्स पठाइरहेको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्ने बताए । १० देखि २० वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने उनको सुझाव थियो।

सरकारलाई सल्लाह र सुझाव दिनुभन्दा पनि गैरआवासीय नेपालीहरूले आ(आफ्नो ठाउँबाट काम गरेर देखाउनुपर्नेमा उनले जोड दिए। ‘हामी सरकारसँग सधैँ भनिरहेका छौँ, यस्तो गरिदिएको भए यस्तो हुन्थ्यो भनेर। तर जुन बेलामा देश अप्ठ्यारोमा छ, नियम कानुनहरू अप्ठ्यारा छन्, त्यस्तो बेलामा हामी आएर लडेर, झगडा गरेर नेपाल बनाउने अभियानमा अगाडि बढ्नुपर्छ,’ डा. महतोले भने।

उनले आगामी महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीहरू भौतिक रूपमै उपस्थित भएर एकताको सन्देश दिन र नेपाल निर्माणको अभियानमा हातेमालो गर्न आह्वान गरे।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्