बाढीपहिरोमा मृतकको सम्झनामा नर्थ क्यारोलाइनामा दीप प्रज्ज्वलन
नर्थ क्यारोलाइना । नेपालमा हालै गएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूको सम्मानमा अमेरिकाका विभिन्न स्थान तथा सहरमा दीप प्रज्ज्वलन तथा शोकसभा आयोजना गरिएको छ । सो अवसरमा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
यसै सन्दर्भमा नर्थ क्यारोलाइनाको रालेमा सोमबार शान्तिपाठसहित शोकसभा आयोजना गरी मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
मोरिसभिलस्थित श्री वेंकटेश्वर मन्दिरले आयोजना गरेको प्रार्थना सभामा मोरिसभिल टाउनका मेयर टीजे काउलीले नेपालमा गएको बाढीपहिरोबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा आफू नेपाली समुदायसँगै रहेको बताउनुभयो । उहाँले यस कठिन समयमा सबै जना सहयोगी बनेर दुःखमा परेकाहरूको उद्धार तथा राहतमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
नर्थ क्यारोलाइनास्थित नेपाली संस्था नेपलिज कम्युनिटी अफ नर्थ क्यारोलाइना (एनसीएनसी) का अध्यक्ष ददीन पाण्डेले देश बाढीपहिरोको चपेटामा परेकाले सबैले आफूले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विपदबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्थिति तथा मृतक र घाइतेको संख्याबारे जानकारी दिँदै यस घटनाबाट नेपाल मात्र नभई विश्व समुदायसमेत प्रभावित भएको बताउनुभयो ।
वेंकटेश्वर मन्दिरका ट्रस्टी लक्ष्मीकुमारले प्रकृतिसँग मानिसले सधैँ सहभाव राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सनकादिक ८८ हजार ऋषिहरूले प्रकृतिसँग गरेको प्रेमको उदाहरण प्रस्तुत गर्दै मृतकको आत्माको चिरशान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
सो अवसरमा डा. वालचन्द्र शर्मा र ईश्वर देवकोटाले भवितव्य टार्न नसकिने भए पनि विपदबाट घाइते भएकाहरूको उद्धार तथा राहतमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
यसैबीच, ग्रेटर बोस्टन नेपलिज कम्युनिटी (जीबीएनसी) ले बाढीपहिरोमा परी मृत्यु भएकाहरूको सम्मानमा दीप प्रज्ज्वलन गरी मृतकको आत्माको शान्तिको कामना गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
त्यसैगरी, भर्जिनियाको फेयरफ्याक्समा पनि महाविपद् र ठुलो धनजनको क्षति भोगिरहेका परिवार तथा समस्त नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै दीप प्रज्ज्वलन गरिएको छ । यसैगरी, बाल्टिमोरको टाउसनस्थित हिन्दु–बुद्ध मन्दिरमा पनि मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाइएको छ ।