नेपाल

भोटेकोशी बाढी: हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् । बाढीपछि हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो ।

तीमध्ये ९८ जनाको सनाखत गरी शव आफन्तलाई बुझाइएको प्रवक्ता महतले जानकारी दिनुभयो । अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा बढी रसुवाबाट दुई हजार ८६० र नुवाकोटबाट एक हजार ९८१ जना छन् । बाँकी नेपाली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका उहाँले बताउनुभयो ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ८२७ जनाले प्राथमिक उपचार सेवा लिएका छन् । प्राधिकरणका अनुसार विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकामा २४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपाली सेनाबाट तीन हजार ४०४ जना र सशस्त्र प्रहरीबाट तीन हजार ९६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीले एकै पटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सक्रिय छन् ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्