एक्सक्लुसीभ

रुबी हत्या- जलेका प्रेमी लक्ष्मण पासवानको मृत्यु

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवानको मृत्यु भएको छ।

पासवानको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । पासवान आफैँले बुधबार बिहान आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए ।

पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएको थियो ।

गरुडामा उपचार सम्भव नदेखिएपछि पासवानलाई थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर रिफर गरिएको थियोे । पक्राउ परेका पासवानले गरुडास्थित अस्पतालमा उपचारमा संलग्न डाक्टरलाई बताए अनुसार झगडा परेपछि रुबिको हत्या गरेको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार रुबी साहको हत्यारा लक्षमण पासवान नै रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको बताउनु भएको छ । प्रवक्ता कार्कीका अनुसार मलेसियाबाट पासवानले ल्याएको सुटकेश र डोरी हत्यामा प्रयोग गरिएको छ ।

प्रहरीले आफूलाई कारबाही गर्न नसक्ने भन्दै १० वर्ष वा २० वर्षको जेल सजाय आफूले गरेको अपराधको सजाय नभएको भन्दै मरेर रुबी नजिक जानु नै आफ्नो अन्तिम लक्ष्य रहेको पासवानले बोलेको भिडियोमा रहेको छ ।

रुबी साहको हत्या बाध्यतावश गरेको पासवान आफैँले बनाएको भिडियोमा बोलेका छन् । आफ्नो जिउमा आगो लगाउनु केही बेर अघि तयार गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।

पासवानले छातिमा प्रेमिका रुबीको ट्याटु बनाएका छन् भने हातमा समेत माई हर्ट रुबीकुमारी नामको ट्याटु बनाएका थिए । विद्यालय पढ्दादेखि नै रुबीसँग प्रेम परेको मर्नु अघि पासवानले बनाएको भिडियोमा बोलेका छन्।

सामाजिक संजालमा अपलोड गरिएको उक्त भिडियोमा रुबी साह हत्याका आरोपित पासवानले रुबीको आमा, भिनाजु र देवरमाथि गम्भीर आरोप लगाएका छन् ।

पासवानको भिडियो अनुसार रुबिकी आमा, भिनाजु र देवरले रुबिलाई पैसाको लोभमा अनैतिक सम्बन्ध बनाउन बारम्बार दबाब दिने गरेको र त्यही कारण रुबी चिन्तामा हुँदा आफुहरूमा झगडा हुने गरेको बताएका छन् ।

हत्यापछि रुबिलाई सुटकेशमा राखेको अवस्थामा प्रहरीले गौर गङ्गापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राति फेला पारेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.