मर्दी हिमालमा तीन दिनदेखि अलपत्र परेका पोखराका तीन युवा सकुशल फेला
पोखरा । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा बाटो बिराएर तीन दिनदेखि अलपत्र परेका पोखराका तीन जना युवा मोदी खोलाको किनारमा सकुशल फेला परेका छन्। उद्धार टोली उनीहरूसम्म पुगिसकेको छ भने सुरक्षित स्थानमा ल्याउने अन्तिम प्रयास भइरहेको छ।
माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीका अनुसार उद्धार टोली र युवाहरूबीच प्रत्यक्ष सम्पर्क भइसकेको छ। दुवै पक्ष एकअर्कालाई देख्न र बोल्न सक्ने अवस्थामा छन्।
पोखरा महानगरपालिका–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ साउन १९ गते मर्दी हिमाल पदयात्राका लागि निस्किएका थिए। साउन २० गते बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।
उनीहरू हराएको सूचना प्राप्त भएपछि बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीको नेतृत्वमा स्थानीय टोलीले खोजी सुरु गरेको थियो। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय जनप्रतिनिधि र बासिन्दाको समन्वयमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।
खोजीका क्रममा उनीहरू अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत छुमरुङ फेदी नजिक मोदी खोलाको पारिपट्टि रहेको पत्ता लागेको थियो। प्रारम्भिक अनुमानअनुसार उनीहरू बादलडाँडा क्षेत्रबाट बाटो बिराएर घना जंगल र भीर हुँदै मोदी खोलाको किनारसम्म पुगेका थिए। उनीहरूले पहिलो रात जंगलको एउटा ओडारमा बिताएको बताइएको छ।
उद्धारका लागि पुगेका स्थानीय होटल व्यवसायीहरूले माथिल्लो सुरक्षित बाटो प्रयोग गर्न आग्रह गरे पनि उनीहरू भीर हुँदै खोलातर्फ झरेकाले उद्धार कार्य थप जटिल बनेको थियो। त्यसपछि घान्द्रुक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्नपूर्ण गाउँपालिकाको समन्वयमा संयुक्त उद्धार टोली परिचालन गरिएको हो।
मोदी खोलामा पानीको बहाव अत्यधिक रहेकाले उनीहरूलाई सुरक्षित रूपमा खोला पार गराउनु चुनौतीपूर्ण बनेको छ। सुरक्षाकर्मीहरूले अस्थायी फड्के निर्माण, पानीको बहाव सुरक्षित दिशातर्फ मोड्ने तथा आवश्यक उद्धार उपकरण प्रयोग गर्ने तयारी गरिरहेका छन्।
हाल पोखराबाट सशस्त्र प्रहरी बलको विशेष खोज तथा उद्धार टोली पनि घटनास्थल पुगेको छ। प्रहरीका अनुसार स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षाकर्मीको समन्वयमा तीनै युवालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याउने अन्तिम प्रयास जारी छ। प्रारम्भिक जानकारीअनुसार तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।