‘म तीन पटक विवाहको नजिक पुगेकी थिएँ, तर तीनै पटक भगवानले बचाउनुभयो’
मुम्बई। सुष्मिता सेनको विवाह बारे उनका प्रशंसकहरु उनलाई पछ्याई रहन्छन । उनी पनि प्रशंसकहरुको जिज्ञाशा शान्त पार्न जवाफ दिने प्रयास गरिरहन्छिन । हालसालै इन्स्टाग्राम ‘लाइभ’ मार्फत सुष्मिताले आफ्ना प्रशंसकहरूको प्रश्नहरूको जवाफ दिएकी थिइन्।
लाइभ सत्रको क्रममा, एक प्रशंसकले सुष्मितालाई विवाह गर्ने योजनाबारे सोधे। उनले जवाफ दिँदै भनिन्, “यो प्रश्नको जवाफ खोज्दा-खोज्दै हामी दुवैजना थाक्नेछौं।”
सुष्मिताले विवाह र अविवाहित रहने आफ्नो निर्णयबारे विभिन्न अवसरहरूमा कुरा गरेकी छिन्।
सन् २०२२ मा, उनले ‘ट्विक इन्डिया’को कार्यक्रम ‘द आइकन्स’मा ट्विंकल खन्नासँग यस विषयमा चर्चा गरेकी थिइन्। उनले भनिन् कि उनले आफ्नो जीवनमा केही “अत्यन्त रोचक पुरुषहरू” लाई भेटेकी थिइन्, तर सम्बन्ध अघि बढ्न सकेन किनभने उनीहरूले उनलाई निराश बनाए।
सुष्मिताले भनिन, ‘भाग्यवश मैले मेरो जीवनमा केही निकै रोचक पुरुषहरूलाई भेटेँ; मैले विवाह नगर्नुको एउटै कारण उनीहरूबाट निराशा पाउनु थियो। यसमा मेरा छोराछोरीको कुनै भूमिका थिएन। मेरा छोराछोरी कहिल्यै पनि यसको बाधक बनेनन्। बरु, उनीहरूले निकै उदार व्यवहार देखाए। मेरा दुवै छोराछोरीले मेरो जीवनमा आएका मानिसहरूलाई खुसीसाथ स्वीकार गरे, कहिल्यै असन्तुष्टि जनाएनन्। उनीहरूले सबैलाई समान माया र सम्मान दिए।’
सुष्मिताले भन्छिन्, ‘म तीन पटक विवाहको नजिक पुगेकी थिएँ, तर ती तीनै पटक भगवानले मलाई बचाउनुभयो। उनीहरूको जीवनमा कस्ता-कस्ता विपत्तिहरू आइलागे भन्ने कुरा म भन्न सक्दिनँ। भगवानले मेरो रक्षा गर्नुभयो; सायद उहाँले मेरा यी दुई छोराछोरीको पनि रक्षा गरिरहनुभएको हुनाले मलाई कुनै जटिल वा खराब सम्बन्धमा फस्न दिनुभएन।’
सुष्मिता यसअघि मोडल रोहमन शलसँग सम्बन्धमा थिइन्। सन् २०२१ मा अलग हुनुअघि उनीहरूले केही वर्ष डेटिङ गरेका थिए। उनी व्यवसायी ललित मोदीसँग पनि छोटो समयका लागि सम्बन्धमा थिइन्।