मनोरंजन

९९औँ ओस्कार अवार्ड: ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला

काठमाडौँ ।  ‘नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६’ ले ९९औँ एकेडेमी अवाड्र्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्रको छनोट प्रक्रिया सुरु गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी सूचनाअनुसार मापदण्ड पुगेका नेपाली चलचित्रले यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिनुपर्नेछ । ओस्कारमा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताले काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समयसीमाभित्र आफ्ना चलचित्र दर्ता गराउन आह्वान गरिएको छ ।

ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ भने विसं २०८२ असोज १५ देखि विसं २०८३ असोज १४ भित्र सिनेमा घरमा प्रदर्शन गरेको हुनुपर्नेछ । यसका साथै, चलचित्र व्यावसायिक सिनेमा घरमा टिकट काटेर लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने प्रावधान राखिएको समितिका अध्यक्ष शर्माले बताउनुभयो ।

अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा सात दिन प्रदर्शन भएका चलचित्रलाई पनि मान्यता दिइनेछ । प्रदर्शनको सर्त पूरा नभएको खण्डमा भने चलचित्रले ओस्कारले तोकेका आधिकारिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ । उहाँका अनुसार टेलिभिजन, ‘भिडिओ’, ‘डिभिडी’, ‘इन्टरनेट स्ट्रिमिङ’ वा ‘एयरलाइन इन्टरटेनमेन्ट’ जस्ता माध्यमबाट पहिलो पटक प्रदर्शन भएका चलचित्र भने छनोटका लागि अयोग्य मानिनेछन् ।

सहभागिताका लागि चलचित्रको निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने र चलचित्रमा नेपाली परिवेश तथा तत्त्वहरू झल्किएको हुनुपर्ने सर्त राखिएका छन् । त्यसैगरी, चलचित्रको ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ भने स्पष्ट बुझिने अङ्ग्रेजी ‘सवटाइटल’ अनिवार्य रूपमा राखिएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

छनोटमा परेको खण्डमा चलचित्रले ओस्कारको प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्ने समितिले जनाएको छ । इच्छुक निर्माताले आवेदन दिई आवश्यक सामग्रीसहित काठमाडौँस्थित सचिवालयमा सम्पर्क गर्न सक्नेछन् । यससम्बन्धी थप नियम र प्राविधिक जानकारी ओस्कारको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ । आवेदन तथा थप जानकारीका लागि समितिका अध्यक्ष शर्मालाई सम्पर्क गर्न वा समितिको आधिकारिक इमेलमा पत्राचार गर्न सकिने समितिले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्