स्थानिय प्रशासनले सुनसरीमा निषेधज्ञा हटायो, देवानगञ्जको तनाव पछि जनजीवन सामान्य बन्दै
देवानगञ्जमा भएको साम्प्रदायिक तनावपछि सम्भावित अप्रिय घटना रोक्न प्रशासनले चरणबद्ध रूपमा जिल्लाका विभिन्न स्थानीय तहमा निषेध आदेश जारी गरेको थियो। प्रारम्भिक चरणमा सुनसरीका १० स्थानीय तहमा लागू गरिएको निषेध आदेशपछि चार स्थानीय तहमा सीमित गरिएको थियो। पछिल्लो समय देवानगञ्ज र हरिनगर गाउँपालिकामा मात्र कायम रहेको निषेध आदेश पनि सुरक्षा अवस्था सामान्य बन्दै गएपछि पूर्ण रूपमा हटाइएको छ ।
सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ। पछिल्ला दिनमा जिल्लाको शान्ति–सुरक्षा अवस्था उल्लेख्य रूपमा सुधार भएको निष्कर्षसहित प्रशासनले सोमबार साँझदेखि निषेध आदेश हटाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा सोमबार साँझ जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको निषेध आदेश पूर्ण रूपमा हटाइएको हो। प्रशासनले जिल्लाको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दा अवस्था क्रमशः सामान्य बन्दै गएको छ । जनजीवन सहज रूपमा सञ्चालन हुन थालेको तथा शान्ति–सुरक्षाको अवस्था सन्तोषजनक देखिएकाले निषेध आदेश हटाइएको जनाएको छ।
देवानगञ्जमा भएको साम्प्रदायिक तनावपछि सम्भावित अप्रिय घटना रोक्न प्रशासनले चरणबद्ध रूपमा जिल्लाका विभिन्न स्थानीय तहमा निषेध आदेश जारी गरेको थियो। प्रारम्भिक चरणमा सुनसरीका १० स्थानीय तहमा लागू गरिएको निषेध आदेशपछि चार स्थानीय तहमा सीमित गरिएको थियो। पछिल्लो समय देवानगञ्ज र हरिनगर गाउँपालिकामा मात्र कायम रहेको निषेध आदेश पनि सुरक्षा अवस्था सामान्य बन्दै गएपछि पूर्ण रूपमा हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले पछिल्लो दिनमा बजार, शैक्षिक संस्था, यातायात, उद्योग–व्यवसाय तथा सार्वजनिक गतिविधि नियमित बन्दै गएको बताउनुभयो। स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सर्वसाधारणको सक्रिय सहयोगका कारण जिल्लामा शान्ति र सामाजिक सद्भाव पुनः स्थापित हुँदै गएको प्रशासनको निष्कर्ष छ।
जिल्ला प्रशासन कार्यालयले निषेध आदेश हटाइए पनि कानुनविपरीत कुनै गतिविधिमा संलग्न नहुन, सामाजिक सद्भाव, आपसी भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न तथा शान्ति–सुरक्षा सुदृढ बनाउन सबै जिल्लावासीसँग सहयोगको अपिल गरेको छ।