पुरानो सोचका मानिसहरूलाई मोनिका लेविन्स्कीको सुझाव, ‘केही नयाँ ठट्टाहरू खोज; ३० वर्षसम्म एउटै र पुरानै ठट्टा… हे भगवान्!’
लेविन्स्की भन्छिन, 'मानिसहरू प्रायः लचिलोपन वा प्रतिकूलताबाट माथि उठ्ने क्षमतालाई एउटा सीधा रेखाजस्तो ठान्छन्, तर यो वास्तवमा 'स्पाइरल' (घुमाउरो वा चक्राकार गति) जस्तो हुन्छ। तपाईं अघि बढ्नुहुन्छ, पछि हट्नुहुन्छ, फेरि अघि बढ्नुहुन्छ... अनि फेरि पछि हट्नुहुन्छ। मलाई लाग्छ, यस्तो अवस्थामा मानिसहरूले आफूप्रति धैर्य राख्न आवश्यक छ।'
लस एन्जलस । ह्वाइट हाउस काण्ड पछिका ३० बर्षमा मोनिका लेविन्स्कीको जिन्दगीमा धेरै परिवर्तन आएको छ र उनी आशा गर्छिन् कि कुनै दिन उनका आलोचकहरूमा पनि यस्तै परिवर्तन आउनेछ।
“अल द कूल गर्ल्स” पोडकास्टमा बोल्दै गर्दा ५३ वर्षीया लेविन्स्कीले समय र धैर्यले आफूलाई सम्हाल्न मद्धत गरेको बताउदै पुरानो सोचका मानिसहरूलाई समय अनुसार अघि बढ्न र नयाँ सोच्न आग्रह गर्दै थिइन् ।
मोनिका लेविन्स्कीले “अल द कूल गर्ल्स” पोडकास्टमा भनिन, ‘मलाई लाग्छ कि ५० को दशकमा प्रवेश गर्नु निकै सुखद रह्यो र यसले चिन्ताहरूबाट मुक्ति दिलायो। “मलाई लाग्छ, ‘मलाई अब कुनै वास्ता छैन’ भन्ने त्यो ठट्टा… वास्तवमै समयसँगै मानिसलाई कम वास्ता हुन थाल्छ र उसले यस्तो किसिमको स्वीकारोक्ति अपनाउँछ जसले मलाई निकै आश्वस्त पारेको छ।”
मोनिका गम्भीर भावमा भन्छिन, ‘अझै पनि पुरानै सोच बोकेर बसेका मानिसहरूका सन्दर्भमा भन्नुपर्दा, म चाहन्छु कि उनीहरूले केही नयाँ ठट्टाहरू खोजून्; किनभने ३० वर्षसम्म एउटै ठट्टा… हे भगवान् । वा २८ वर्ष भनौँ न, हामी अझै ३० वर्षमा पुगिसकेका छैनौँ।’
सन् १९९५ को जुलाईमा ह्वाइट हाउसमा इन्टर्नसिप सुरु गर्दा लेविन्स्की २१ वर्षकी थिइन्। सोही गर्मीयाममा उनी २२ वर्षकी भइन् र सन् १९९५ को नोभेम्बरमा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनसँग उनको यौन सम्बन्ध सुरु भयो।
पेन्टागनकी सहकर्मी लिन्डा ट्रिपलाई यो कुरा बताएपछि मात्र यो सम्बन्ध सार्वजनिक चासोको विषय बन्यो; ट्रिपले उनीहरूबीचको कुराकानी गोप्य रूपमा रेकर्ड गरेकी थिइन् र पछि सो रेकर्ड क्लिन्टनविरुद्ध पाउला जोन्सले दायर गरेको यौन दुर्व्यवहारसम्बन्धी मुद्धामा प्रमाणको रुपमा प्रस्तुत गरिएको थियो।

सन् १९९८ को जनवरीमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा क्लिन्टनले उक्त सम्बन्धलाई स्पष्ट रूपमा अस्वीकार गर्दै भनेका थिए, “मैले मिस लेविन्स्कीसँग कुनै यौन सम्बन्ध राखेको थिइनँ।” त्यस लगत्तै देखि सार्वजनिक रूपमा भएको अपमानका कारण लेविन्स्की लुकेर बस्न बाध्य भएकी थिइन् ।
४२औँ राष्ट्रपतिविरुद्धको महाभियोगसम्बन्धी सुनुवाइ सन् १९९९ को जनवरीमा सुरु भई फेब्रुअरी १२ मा सम्पन्न भयो। तल्लो सदन (हाउस) बाट उनीमाथि महाभियोग लगाइए पनि, झूटो बयान दिएको र न्याय सम्पादनमा अवरोध पुर्याएको आरोपबाट भने उनी सफाइ पाउन सफल भए।
यद्यपि यो काण्ड वर्षौँसम्म चर्चाको विषय बनिरह्यो, लेविन्स्कीले भने पछिल्लो दशकमा मात्रै आफ्नो पहिचान पुनः स्थापित गर्न थालिन्।
मोनिका लेविन्स्कीले ती दिनहरु सम्झिदै भनिन, ‘म साँच्चै नै कृतज्ञ महसुस गरिरहेकी छु। म निकै आभारी र उत्साहित छु। जब म पछि हटेर आफ्नो कथालाई निष्पक्ष रूपमा — वा भनौँ, जति निष्पक्ष हुन सकिन्छ त्यति निष्पक्ष भएर — हेर्छु, तब मलाई लाग्छ कि यहाँ अझै पनि कायमै रहनु — अर्थात् भौतिक रूपमै उपस्थित रहनु — र मानिसहरूले मलाई हेर्ने, बुझ्ने तथा मसँग अर्थपूर्ण ढंगले जोडिने तरिकालाई आकार दिन सक्नु साँच्चै असाधारण कुरा हो। यो त अविश्वसनीय जस्तै लाग्छ।’
लेविन्स्की भन्छिन, ‘मानिसहरू प्रायः लचिलोपन वा प्रतिकूलताबाट माथि उठ्ने क्षमतालाई एउटा सीधा रेखाजस्तो ठान्छन्, तर यो वास्तवमा ‘स्पाइरल’ (घुमाउरो वा चक्राकार गति) जस्तो हुन्छ। तपाईं अघि बढ्नुहुन्छ, पछि हट्नुहुन्छ, फेरि अघि बढ्नुहुन्छ… अनि फेरि पछि हट्नुहुन्छ। मलाई लाग्छ, यस्तो अवस्थामा मानिसहरूले आफूप्रति धैर्य राख्न आवश्यक छ।’