नेपाल

प्रधानमन्त्री ओलीको चीन भ्रमण : रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी भदौ १४ गतेदेखि १८ गतेसम्म (सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमणमा जाने भएको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आसन्न चीन भ्रमणबारे जानकारी दिँदै भ्रमणको मुख्य उद्देश्य चीनको थियानजिन शहरमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिनु रहेको स्पष्ट गर्नुभयो।

सन् २००१ मा स्थापना भएको एससिओ हाल विश्वकै ठूला क्षेत्रीय सङ्गठनमध्ये एक हो। यसका सदस्य मुलुकमा चीन, रूस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस छन्। नेपाल सन् २०१६ देखि यस सङ्गठनको संवाद साझेदार राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङ्गसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।

साथै, उहाँले एससिओ शिखर सम्मेलनका अवसरमा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको बताउनुभयो। हालसम्म रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेट तय भइसकेको छ।

यससँगै नेपाली प्रतिनिधिमण्डलले चीनको बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ प्रतिरोधी युद्धको ८०औँ विजय दिवस समारोहमा समेत सहभागी हुने कार्यक्रम छ। चीनका अनुसार उक्त समारोहमा ५० भन्दा बढी मुलुकका प्रतिनिधिमण्डल सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले भ्रमणले नेपाल–चीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र एससिओ सम्मेलनमा नेपालको सक्रिय सहभागितामार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अझ प्रबल हुने विश्वास व्यक्त गर्नुभयो।

भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री तथा सांसद छविलाल विश्वकर्मालगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुने कार्यक्रम छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.