एक्सक्लुसीभ

मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ।

वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

यसअघि विसं २०३२ सालमा मुगुमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।

करिब ५० वर्षपछि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको विशेष पहलमा दोस्रो राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय भएको हो।

छायाँनाथ राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जका रूपमा चिनिने भएको छ।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिब ९ सय ६ वर्गकिलोमिटर भू–भागलाई छुट्याएर छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो।

स्थानीय बासिन्दाले कामको सिलसिलामा शे–फोक्सुण्डो निकुञ्ज आउजाउ गर्दा पैदलमार्गबाट एक साता समय खर्चिनुपर्ने समस्या समाधान गर्न मन्त्री शाहीले पहल गरेको जानकारी मन्त्री शाहीको सचिवालयले दिएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाले पनि सो भू–भागलाई छुट्याएर नयाँ निकुञ्ज बनाउन माग गर्दै आएको थियो। उक्त निकुञ्ज गाउँपालिकाको वडा नं. १ मा पर्नेछ।

यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको संख्या अब १३ पुगेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.