नेपाल

साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

लेखनाथ । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत प्रहरीले बरामद गरेको छ।

बरामद भएको सुनको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिनुभयो।

पोखरा महानगरको वडा नम्बर २, ३, ४ र ९ का केही क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ४ बजेबाट कारबाही सुरु गरेको थियो। कारबाहीका क्रममा राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष), मनिकलाल आदक (४५ वर्ष), सन्दीप ढाव (३५ वर्ष), सोमनाथ पाल (४१ वर्ष), दीपक सामन्त (४७ वर्ष ) पक्राउ परेका छन्।

प्रहरीले गोविन्दा दिण्डा (४७ वर्ष), असित वर (३५ वर्ष), तापस सामन्त (४४ वर्ष), उज्वल भोमिक (३८ वर्ष), सुनिता पवार (४० वर्ष), प्रोभास माझी (४९ वर्ष)लाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका भारतीय नागरिकहरू काेलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

भारतीय नागरिकबाट बरामद भएको अवैध सुनचाँदी र नगदबारे जानकारी दिँदै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया। तस्बिरः फडिन्द्र अधिकारी

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.