राजनीति

लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको अविश्वासको प्रस्तावमाथि मत विभाजनका क्रममा संसदीय दलका नेता लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट पारित भएको हो। अविश्वासको प्रस्तावको पक्षमा २२ प्रदेश सभा सदस्य र विपक्षमा १५ प्रदेश सभा सदस्यको मत परेको हो।

प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन्।

योसँगै मुख्यमन्त्री लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ। लामा र इन्द्र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर नेता हुनुहुन्छ। लामा २०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै दलको नेता निर्वाचित हुनुभएको थियो। संसदीय दलको नेताका लागि भएको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाउनुभएको थियो।

अविश्वासको प्रस्तावमाथि मत विभाजनबाट निर्णय गर्नु पूर्व प्रस्तावमाथि छलफल गरिएको थियो।

प्रस्तावमाथि छलफल गर्न बसेको बैठकमा पार्टीले केन्द्रीय पर्यवेक्षकमा केन्द्रीय सदस्य राजन केसीलाई पठाएको पत्र र नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ताभएको पत्र पढेर सुनाइएको थियो। बानियाँको अगुवाइमा संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।

अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी सोमबारबाट प्रक्रिया थाल्ने गरी बैठक बोलाइए पनि सहमति जुटाउने भन्दै लम्बिएको थियो।

सोमबार दिउँसो १ बजे अविश्वासको प्रस्तावमाथि छलफल गर्न संसदीय दलको बैठक बोलाइएकोमा बैठक बस्ने कार्यविधि र मोडालिटी नभएको भन्दै लामा पक्षधरले कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने र अर्को पक्षले कार्यविधि आवश्यक नभएको बताएपछि विवाद भएको थियो। लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट पारित भएसँगै अब संसदीय दलको नेताका लागि निर्वाचन हुने भएको छ।

संसदीय दलको नेता गोप्प मतदानबाट गर्ने र ५० प्रतिशतभन्दा बढी मत ल्याउने संसदीय दलको नेता हुने कांग्रेसको संसदीय दलको विधानमा व्यवस्था रहेको छ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलले कांग्रेस बागमती प्रदेश समितिलाई पत्र पठाएपछि प्रदेश समितिको कार्यसम्पादन समितिले निर्वाचन समिति गठन गरी निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.