राजनीति

आमाको नामबाट पनि नागरिकता

काठमाडौँ । राष्ट्रिय सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ पारित गरेको छ । प्रतिनिधि सभाले गरेको संशोधनमा थप व्याख्यासहित परिमार्जन गरेर माथिल्लो सदनले सो विधेयक पारित गरेको हो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयक अब राष्ट्रिय सभाले गरेको परिमार्जन स्वीकार गर्न पुनः प्रतिनिधि सभामा पठाइने छ । प्रतिनिधि सभाले राष्ट्रिय सभाको परिमार्जन स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखकको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावमा सभाले सर्वसम्मतले सो विधेयक पारित गरेको हो । प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले संशोधनले आमा पनि वंश हो भन्ने विषय स्वीकार गरी व्यावहारिक रूपले नै आमालाई वंशका रूपमा पहिचान गरेको बताउनुभयो ।

संविधानले कुनै पनि नेपाली नागरिकता प्रमाणपत्रबाट वञ्चित नहुने व्यवस्था गरेको छ । गृहमन्त्री लेखकले भन्नुभयो, “संविधानको व्यवस्थालाई पूर्ण रूपमा लागु गर्न सकिएको थिएन । व्यावहारिक रूपमा लागु गर्नै संशोधन विधेयक आएको हो । ऐतिहासिक प्रस्थान गरेका छौं । यसमा भएका विषय सबैको साझा प्रतिबद्धताको उपज हो ।”

संशोधनले आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था पहिलो पटक हुन लागेको हो । सो विषयमा प्रतिनिधि सभाले गरेको संशोधनलाई राष्ट्रिय सभाले थप व्याख्यासहित प्रस्ट्याएको छ । जसअनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए पनि बाबुको अन्य पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिने छ । त्यस्तो व्यक्तिलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने विधेयकमा व्यवस्था गरिएको छ ।

विधेयकमा अङ्गीकृत नागरिकता प्रदान गर्ने अर्को व्यवस्था पनि थपेको छ । नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बुवाको पहिचान खुल्न नसकेको व्यक्तिलाई अङ्गीकृत नागरिकता प्रदान गरिने व्यवस्था गरिएको छ ।

त्यसै गरी कुनै व्यक्तिको नागरिकता प्रमाणपत्रमा आमा वा बुवामध्ये कुनै एकको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नागरिकता प्रमाणपत्रमा निजले उल्लेख गर्न नचाहेको आमा वा बुवाको नाम, थर र ठेगाना उल्लेख नगरी पनि नागरिकता जारी गर्न सकिने व्यवस्था थपिएको छ ।

प्रतिनिधि सभाबाट पारित विधेयकमा बुवाको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहेमा आमाको नाम, थर र ठेगानाबाट नागरिकता प्रमाणपत्र जारी गर्न सक्ने व्यवस्था रहेकोमा सो व्यवस्थामा परिमार्जन गरी आमा वा बुवा दुवैमध्ये एउटा विकल्प रोज्ने बाटो खुला गरेको छ । विधेयकले बुवा वा आमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था गरेको छ । सोसम्बन्धी व्यवस्थामा बुवा वा आमामध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नअगावै मृत्यु भएको वा सम्पर्कविहीन रहेको व्यक्तिलाई अङ्गीकृत नागरिकता प्रदान गर्ने उल्लेख गरिएको छ ।

नागरिकता पाउने झन्झटिलो प्रावधान संशोधनले सरल बनाएको छ । जसअनुसार नागरिकतामा कैफियत देखिए अधिकारीले दिएको आदेश वा निर्णयबाट मर्का पर्ने व्यक्तिले गृह सचिवसमक्ष निवेदन दिन सक्ने थपिएको छ । साथै निवेदन दिने, निवेदनमा कैफियत राख्ने र गृह सचिवले निर्णय दिनुपर्ने समयको अवधिसमेत तोकिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.