एक्सक्लुसीभ

थाइल्याण्ड र कम्बोडियाबिच युद्धविरामको सहमति

मलेसिया, (एपी) । मलेसिया, थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनदेखि जारी सीमाविवाद अन्ततः वार्ताबाट समाधानतर्फ उन्मुख भएको छ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घका अध्यक्षसमेत रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दुबै देशका नेताहरूले “तुरुन्त र बिना सर्त युद्धविराम” मा सहमति जनाएको घोषणा गर्नु भएको छ ।

अनवरका अनुसार थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटबीच भएको स्पष्ट र सिधा संवादपछि दुबै पक्ष शान्तिपूर्ण वातावरणमा फर्कन सहमत हुनु भएको हो । वार्तापछि मङ्गलबार राति १२ बजेदेखि युद्धविराम लागू हुने जनाइएको छ। अनवरले भन्नुभयो, “यो द्वन्द्व न्यूनीकरण र शान्ति स्थापनातर्फको महत्वपूर्ण पहिलो कदम हो।”

दुबै देशका सैन्य अधिकारी तथा उच्च सरकारी प्रतिनिधिहरूबीच नियमित बैठक गरी सीमा तनावको व्यवस्थापन गर्ने तयारीसमेत भएको छ। साथै, मलेसिया, कम्बोडिया र थाइल्याण्डका परराष्ट्र तथा रक्षामन्त्रीहरूले युद्धविराम कार्यान्वयन र अनुगमनका लागि विस्तृत संयन्त्र विकास गर्ने जिम्मा लिइसकेको जानकारी दिइएको छ।

विस्थापितको चासो घर फर्कने आशा

दुवै देशका प्रधानमन्त्रीहरूले वार्तापछि हात मिलाएर पत्रकार सम्मेलन टुंग्याए। कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले भन्नुभयो, “म आशा गर्छु, चाँडै द्विपक्षीय सम्बन्ध सामान्य अवस्थामा फर्कनेछ र दुबै देशका करिब तीन लाख विस्थापितहरू सुरक्षित रूपमा घर फर्कन सक्नेछन्।” त्यस्तै, थाई प्रधानमन्त्री फुमथामले भन्नुभयो, “वार्ताको नतिजा थाइल्याण्डको शान्तिपूर्ण समाधान चाहनाको प्रतिबिम्ब हो।”

झडपको पृष्ठभूमि

विगत बिहीबार सीमा क्षेत्रमा राखिएको बारुदी सुरुङ विस्फोटमा पाँचजना थाई सैनिक घाइते भएपछि झडप सुरु भएको थियो। घटनामा दुबै पक्षले एकअर्कालाई दोष दिएका छन्। अहिलेसम्म कम्तीमा ३५ जनाको मृत्यु भइसकेको छ भने २ लाख ६० हजारभन्दा बढी नागरिकहरू विस्थापित भएका छन्।

थाइल्याण्डले सबै सीमा नाका बन्द गरेको थियो, जसमा क्याम्बोडियाली आप्रवासी श्रमिकहरूलाई फर्किने छुट दिइएको थियो । दुवै देशले आफ्ना-आफ्ना राजदूत फिर्ता बोलाइसकेका छन्।

अमेरिकी र चिनियाँ दबाब

यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष चासो र दबाबपछि सम्भव भएको हो। संयुक्त विज्ञप्तिअनुसार, संयुक्त राज्य अमेरिका र चीन दुबै देश वार्ता प्रक्रियाका सहआयोजक थिए। मलेसियामा भएको दुई घण्टा लामो बैठकमा दुबै देशका राजदूतहरूको सहभागिता थियो।

मानव पीडा

कम्बोडियाको सिएम रिप प्रान्तस्थित शरणार्थी शिविरमा बसेकी ५६ वर्षीया रोन माओले भन्नुभयो, “हामी लडाइँ सुरु भएदेखि घरबाट भागेका हौं। कहिले गोली, कहिले बम। म यो युद्ध चाहन्नँ। शान्ति चाहन्छु।”

थाइल्याण्डको सुरिन क्षेत्रमा रहेका ६ हजारभन्दा बढी शरणार्थीहरूमध्ये ६३ वर्षीया किसान नकोर्न जोमकामसिङको भनाइ छ, “कृपया सरकारले शान्ति ल्याओस्। मलाई मेरो घर, कुकुर, कुखुरा सबै याद आइरहेको छ।”

थाइल्याण्ड र कम्बोडियाबीचको ८०० किलोमिटर लामो सीमा दशकौँदेखि विवादित रहँदै आएको छ। विगतमा पनि केही झडपहरू भए पनि तिनीहरू छोटो समयमै समाधान हुन्थे। तर, यस पटकको झडप गत मे महिनामा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि सुरु भएको विवादबाट चर्किएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.