कविता

नआएको धेरै भो तिमी

मध्ये रातमा जोगीको फेरी सङ्गै
गुन्ज्यमान भएको मन्त्रोच्चारण बनी
नआएको धेरै भो तिमी
ओ कविता।

झिसमिसे बिहानी सङ्गै
रेडियोको नेपालको धार्मिक धून
अनि ॐ जय शिव शङ्कर शम्भो.. आरतीसङ्गै
देउताथानमा ममता भाकेर आमाले जलाएको
एक जोर सिङ्के धूप र
छिमेकी डिकि भाउजुले ॐ मणि पद्मे हुँ
मन्त्र जप्दै बालेको छेसाङको धूप वासना बनी
नआएको धेरै भो तिमी
ओ कविता।।

काँधभरी पुस्तकको झोला बोकी
उज्यालो भविस्य पढ्न गएका छोराछोरी
डोकोभरी साग सब्जी र
थाप्लोभरी जिम्मेवारी बोकी
हाट भर्न गएको बा आमा बनी
नआएको धेरै भो तिमी
ओ कविता।।

राताम्मे पश्चिम क्षितिजबाट
लुकेर छिरेको उज्यालो
दिनभरी चरनबाट फिरेको
माउ बाख्रो भेटेर आगनमा उफ्रेको पाठो
गोठमा थुम्के हानीहानी दूध खाइरहेको बाच्छो
र साझ कीर्तनमा जाने हतार बनी
नआएको धेरै तिमी
ओ कविता ।।

म पागल छु
म शून्य छु
म अस्तित्वहीन छु तिमी बिना
मेरो जिवित मृत्युको मलामी बनी
नआएको धेरै भो तिमी
ओ कविता।।

दिपेन्द्र आचार्य
पशुपतिनगर

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.