कविता

उनी अर्थात् एउटी पात्र 

उनी

अर्थात् हरेक साँझ मलाई पर्खिरहने एउटी पात्र

तुक समातेर भन्छिन्–

महोदय, एक साँझ

सम्पन्नताको सवारी चढेर

वर्गीय अभावमा तपाईं रत्नपार्क आउनुभो

र मलाई

प्यासको रातो सर्वत बनाउनुभो

सहमतिबाट म माथि नउठ्दै

माग्नुभो दामको सन्तुलित लिस्ट

र म रिजर्भ भएको रसिद काट्नुभो

मसँग पनि थिए

किशोरी मिर्मिरेसँगै मुस्कुराउने

कुमारी सपनाहरू

मसँग पनि थिए

प्रेमालयमा हुर्किंदै गरेका गृहस्थीका बच्पनाहरू

पेटको पर्खालभित्र

बनाएर भोगको बन्धकी

तमसुक पट्याए झैँ

मेरो अनुमति पट्याउनुभो

बस्न दिएर रुपियाँको अग्लो मचानमा

मेरो रातलाई दिन बनाउनुभो

र दिनलाई रित्तो बिस्कुन बनाउनुभो

कुरा यत्ति हो,

तपाईंको अँगालोबाहिर

म ओतिएको ओतमुनि

केही थान भोकले मलाई पर्खिएको हुन्थ्यो

उनीहरूकै रोगले पव्रिmएको हुन्थ्यो

अलिकति सोखले लज्जा लत्रिएको हुन्थ्यो

त्यसैले महोदय,

आवश्यकताको प्रणय कानुन ओढेर

जानाजान म

तपाईंका लागि ‘प्रोर्न साइड’ भएँ

भन्नु केही छैन–

जानाजान म

गतीछाडा गल्लीको ‘रेड लाइट’ भएँ

भन्नु केही छैन–

महोदय, पेसा र सम्बन्धका आफ्नै मूल्यहरू हुन्छन्

स्विकार्नुहोला–

दिनुलिनुका विनियमहरू हुन्छन्

स्विकार्नुहोला–

गोप्यताको मेरो हक

आत्मसम्मानको गजुरीबाट

तपाईंले खसालेको दिन

बदनाम बादलले मेरो इज्जत न्याँकेको दिन

म लैजाने छु

हल्लाको सामाजिक सञ्जालमा तपाईंलाई

र सुनाउने छु उत्ताउलो कथा

नाङ्गो दुनियाँ मन पराउनेहरूलाई

महोदय, नबुझी तडप सङ्घर्षको

चतुर पण्डितले झैँ चरित्रको कुरा

समाजशास्त्रको कचहरीमा गर्दै नगर्नुहोला

हालत पागल भएपछि

देखेको छु,

सती सावित्री पनि नगरबधू बनेको

त्यसैले म बेचिरहेको छु सहरमा निजी आकर्षण

किन्न सक्नुहुन्छ तपार्इं–

म बेचिरहेछु सर्मको सन्ध्या

किन्न सक्नुहुन्छ तपाईं–

महिनाको हिसाबमा

‘दस हजार’ घरभेटीले लिने भाडा

‘आठ हजार’ मालिकले दिने ज्याला

बाध्यताको यस्तो सास्तीमा बाँधेर

ओ राज्य, तिमी मलाई बेसर्मीको पदक नबनाऊ

कर्मको करेसामा उमार्छु म

अलिकति जीवनको उज्यालो

सक्छौ भने सम्मानको एक जोर आँखा पठाऊ

उनी अर्थात् हरेक साँझ मलाई पर्खिरहने एउटी पात्र

तुक समातेर भन्छिन्–

महोदय, एक साँझ

सम्पन्नताको सवारी चढेर

वर्गीय अभावमा तपाईं रत्नपार्क आउनुभो

धन्यवाद !

तपाईंले मभित्रको जिजीविषा बचाउनुभो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.