साहित्य

साहित्यकार डा. त्रिपाठीका कविता र गीतमाथि विमर्श

बोस्टन  । “आमाले बिसाएको भारी हलुकै उठाउन खोजेथेँ, आधा दिन काटेपछि बल्ल थाहा लाग्यो, जिन्दगी कति गह्रौँ रहेछ…।”

यी हरफ साहित्यकार डा. गीता त्रिपाठीका हुन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्थ क्यारोलाइना च्याप्टर र नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको संयुक्त आयोजनामा प्रत्येक महिनाजसो सञ्चालन हुने मासिक घरदैलो कार्यक्रमअन्तर्गत यसपटक शनिबार राति डा. त्रिपाठीसँग जुममार्फत साक्षात्कार गर्ने तथा उहाँका रचना सुन्ने अवसर प्राप्त भएको थियो।

कार्यक्रममा डा. त्रिपाठीले तीनवटा कविता र दुईवटा गीत प्रस्तुत गर्नुभएको थियो। गीत, सङ्गीत, निबन्ध तथा समालोचनामा कलम चलाउने बहुआयामिक प्रतिभाकी धनी ५३ वर्षीया डा. त्रिपाठीका झन्डै एक दर्जन साहित्यिक कृति प्रकाशित छन्।

कविता वाचनका क्रममा उहाँले विगतको तुलनामा अहिले वातावरणीय समस्या बढ्दै गएकाले पर्यावरणसम्बन्धी कविता र साहित्यको चर्चा बढ्नु स्वाभाविक र आवश्यक रहेको बताउनुभयो। यस्ता विषयमा आधारित कविता तथा रचना बढी सुन्न पाइने क्रम बढ्नु सकारात्मक पक्ष भएको उहाँको भनाइ थियो।

कार्यक्रमकी संयोजक कवयित्री नम्रता गुरागाईंले साहित्यकार त्रिपाठीको परिचय दिँदै परदेशमा बसेर नेपाली भाषा, साहित्य र स्रष्टासँग साक्षात्कार गर्ने तथा नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले डा। त्रिपाठीको बहुआयामिक साहित्यिक योगदानबारे पनि प्रकाश पार्नुभएको थियो।

समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. शरद परासर मरहट्टाले त्रिपाठीका कवितामाथि र शिव पलाँसले उहाँका गीतमाथि टिप्पणी गर्नुभएको थियो। त्यस अवसरमा पर्यावरणविद् साहित्यकार डा. ऋषि वस्ताकोटीले त्रिपाठीका कृतिमा देखिने पर्यासाहित्यको प्रभावबारे समालोचना प्रस्तुत गर्नुभयो भने साहित्यकार डा. नीलम कार्की निहारिका ले उहाँको समग्र साहित्यिक योगदान र कवित्वबारे धारणा व्यक्त गर्नुभएको थियो।

समाजका महासचिव मनोज प्रधानले स्वागत मन्तव्यका क्रममा समाजका गतिविधिबारे जानकारी गराउँदै यस्ता कार्यक्रमले परदेशमा रहेका नेपालीलाई मातृभूमि र नेपाली साहित्यसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

अमेरिकी ‘बा दिवस’ (फादर्स डे) को अवसरमा आयोजित उक्त कार्यक्रममा डा. हरिहर भट्टराई, शिव पलाँस, डा. शरद परासर मरहट्टा, सुरेश भट्ट, शिशिर खनाल, सुजाता ढुङ्गेल, डा. पल्लवी शर्मा, माधवप्रसाद गौतम, प्रशान्त दाहाल र कृष्णराज खनाललगायतले बाबासम्बन्धी कविता वाचन गर्नुभएको थियो।

कविता वाचन र श्रवणका क्रममा कतिपय रचनाले सहभागीलाई भावुक बनाएको र केही समय कार्यक्रमस्थलमा सन्नाटा छाएको अनुभव सहभागीहरूले गरेका थिए।
 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.