डायस्पोरा

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबिच सहकार्य बढाउने प्रयास

दिनेश गिरि, म्याड्रिड । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबिच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ ।

म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्रबिचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने उद्देश्य राखेको थियो ।

कार्यक्रममा नेपाल र स्पेनका सरकारी अधिकारी तथा व्यावसायिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।फोरमको उद्घाटन सत्रमा कार्यवाहक राजदूत पुरक अधिकारीले सहभागीलाई स्वागत गर्दै नेपाल र स्पेनबिचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले नैतिक रूपमा प्राप्त कच्चा पदार्थ र स्वदेशी प्रविधिमा आधारित पुस्तान्तरणीय नेपाली उद्योगहरूको परिचय पनि गराउनुभयो नेपाल व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवीनराज शर्माले नेपाल–स्पेन वस्त्र व्यापारसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै स्पेनी बजारमा नेपाली वस्त्रजन्य उत्पादनका सम्भावनाबारे जानकारी दिनुभयो ।

उहाँले स्पेनी उपभोक्तामाझ आकर्षण बढाउन सक्ने विभिन्न नेपाली वस्त्र तथा तयारी पोसाकका उत्पादनहरू प्रस्तुत गर्नुभयो ।नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरे तथा उपाध्यक्ष देवनन्द सरावगीले नेपाल–स्पेन व्यापारको इतिहास र संरचनाबारे प्रस्तुति दिँदै च्याङ्ग्रा ऊन, हिमाली भेडाको ऊन, भाङ र सिस्नोजस्ता प्राकृतिक रेसाबाट बनेका नेपाली वस्त्र तथा गहनाका प्रतिस्पर्धात्मक विशेषताबारे प्रकाश पार्नुभयो ।

उहाँहरूले हस्तनिर्मित चाँदीका गरगहना, जपमाला तथा परम्परागत आभूषणप्रति अन्तर्राष्ट्रिय विशिष्ट बजारमा बढ्दो आकर्षण रहेको उल्लेख गर्नुभयो । नेपाल गार्मेन्ट सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले कानुनी तथा नीतिगत सुधारका कारण नेपाली तयारी पोसाक उद्योगमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । उहाँले दुवै देशका व्यावसायिक समुदायबिच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

स्पेन उद्योग तथा वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रोड्रिग्वेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलताबारे जानकारी दिँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तरराष्ट्रिय उत्पादनप्रति आकर्षित हुँदै गएको बताउनुभयो ।

उहाँले व्यवसाय–व्यवसायबिचको साझेदारी विस्तार भएमा नेपाल–स्पेन व्यापारिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।प्रश्नोत्तर तथा ‘नेटवर्किङ’ सत्रसँगै सम्पन्न भएको उक्त कार्यक्रममा स्पेनका वस्त्र तथा गहना उद्योगका प्रतिनिधि, लगानी प्रवर्धन निकाय, सरकारी अधिकारी तथा स्पेनी सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ । 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.