साहित्य

कवि देवेन्द्र किशोर ढुङ्गानाको ‘एक मुट्ठी भोक’ सार्वजनिक

झापा । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा शनिबार चन्द्रगढीमा आयोजित एक समारोहबीच भद्रपुरका कवि देवेन्द्र किशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ सार्वजनिक गरिएको छ ।

नेपाली साहित्य परिषद् झापाको आयोजना, स्वतन्त्र आवाज प्रकाशनको समन्वय तथा वर्तमान साहित्य प्रतिष्ठानको सहसमन्वयमा आयोजित कार्यक्रममा प्रा। डा। गङ्गाप्रसाद अधिकारीले कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा। डा। अधिकारीले कृतिकार ढुङ्गानालाई झापाका अग्रज पत्रकार, लेखक तथा कविका रूपमा परिचित व्यक्तित्व भएको उल्लेख गर्नुभयो । उहाँले ढुङ्गानाका रचनामा केवल भावनात्मक अभिव्यक्ति मात्र नभई समाजमा व्याप्त कुरीति, कुसंस्कार, दमन र अन्यायविरुद्धको प्रतिरोधी चेतना तथा वैचारिक दृष्टिकोण सशक्त रूपमा अभिव्यक्त भएको बताउनुभयो । यस्ता सिर्जनाले समाजलाई सचेत बनाउने र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा साहित्यकार चूडामणि वशिष्ठले कृतिमाथि समीक्षा गर्दै ‘एक मुट्ठी भोक’ ले समाजका निम्नवर्गीय तथा श्रमजीवी समुदायको पीडा, अभाव र मानवीय संवेदनालाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले कवि ढुङ्गानाले सरल भाषाशैलीमार्फत सामाजिक यथार्थ र मानवीय चेतनालाई प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको उल्लेख गर्दै कृतिले समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कवि विरही अधिकारी, लता खरेल, महेन्द्र कोइराला, उषा गुरुङ, लक्ष्मी चुडाललगायतले कविता वाचन गर्नुभएको थियो भने डिल्ली रमण नेपालले लोकगीत प्रस्तुत गर्नुभएको थियो ।

कवि ढुङ्गानाको यसअघि वि.सं. २०३६ मा ‘तुँवालोले ढाकेको आकाश’ लघु उपन्यास प्रकाशित भइसकेको छ । ‘एक मुट्ठी भोक’ उहाँको पछिल्लो प्रकाशित साहित्यिक कृतिका रूपमा सार्वजनिक भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्