नेपाल

चीनको केरुङमा अलपत्र ९१ नेपालीको सफल उद्धार

रसुवा । भोटेकोसी नदीमा असार २४ गते आएको भीषण बाढीपछि प्रभावित ४८५ जनालाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएका छन्। स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड अवरुद्ध भएपछि सशस्त्र प्रहरी बलको टोलीले अस्थायी पदमार्ग निर्माण गरी ती नागरिकहरूको उद्धार गरेको हो।

सशस्त्र प्रहरी बलका अनुसार बाढीका कारण रसुवागढी भन्सार यार्डमा अड्किएका दुई कन्टेनर र एउटा विद्युतीय गाडीलाई पनि सुरक्षित स्थानमा सारिएको छ। बाढीले सीमा क्षेत्रमा जनधन र संरचनामा क्षति पुर्‍याए पनि समयमै गरिएको सक्रिय उद्धार प्रयासले थप क्षति हुनबाट जोगिएको जनाइएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चीनको केरुङमा अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई पनि चीन सरकारद्वारा उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। ती नागरिकहरूलाई केरुङमै आवश्यक खानपान र बसोबासको सुविधा दिइएको छ। “अवस्था सामान्य नहुँदासम्म उनीहरूलाई सुरक्षित रूपमा त्यहीँ राखिनेछ,” प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

उहाँले उद्धार कार्यमा चिनियाँ सुरक्षाकर्मीहरूको सक्रिय सहयोग रहेको उल्लेख गर्दै दुवै देशका निकायहरूबिचको समन्वयलाई महत्त्वपूर्ण बताउनुभयो।

यसैबिच, नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवा जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपाल बागमती प्रदेशकी प्रतिनिधि मिनाक्षी थापा मगरले रसुवागढीमा बाढीपछि नबगाएकाे क्षेत्रका २० वटा कन्टेनरमा रहेका तयारी पोसाक, रोल कपडा, जुत्ता र चप्पलजस्ता व्यापारिक सामानहरू व्यापारीहरूले सतर्कतापूर्वक सुरक्षित स्थानमा सार्न सफल भएको जानकारी दिनुभयो।

“व्यापारीहरू स्वयं सक्रिय भएर बाढीबाट सम्भावित क्षति हुन नदिन अग्रसर बने, जुन निकै प्रशंसनीय छ,” थापा मगरले भनिन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार उद्धार, राहत र पुनःस्थापना कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। सुरक्षाकर्मीहरू, प्रशासन तथा सरोकारवाला निकायको समन्वयमा प्रभावित क्षेत्रको व्यवस्थापन कार्य भइरहेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.