खेलकुद

झापा महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

भद्रपुर । खेलको ६० औँ मिनेटमा उत्कृष्ट पुनरागमन गरेको एपीएफ फुटबल क्लबले झापाको दूधेमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधि हात पारेको छ ।

एपीएफले उपाधिसहित ११ लाख रुपैयाँ र शील्ड प्राप्त गरेको छ । उपविजेता भएको त्रिभुवन आर्मी फुटबल क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

निर्धारित ९० मिनेटमा आर्मीसँग १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफले ४–२ गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो । एपीएफका गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ, रेनुका नगरकोटीले गोल गरे भने आर्मीका तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए । आर्मीका यशोदा शाही र बिमला थापाको प्रहारलाई एपीएफकी गोलकिपर एञ्जिला तुम्बापोले बचाइन् ।

खेलको ३१ औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन् ।

एपीएफले खेलको ६० औँ मिनेटमा बराबरी गोल गर्‍यो । रश्मिकुमारी घिसिङले डि–एरियाको साइड एङ्गलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन् ।

त्यसैगरी, उत्कृष्ट गोलकिपर एपीएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपीएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपीएफकै रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपीएफका जिवेशकुमार पाण्डे, उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्