नेपाल

भोटेकोशी–त्रिशूली विपदमा ६२३ विदेशी नागरिक बेपत्ता भएको विवरण प्राप्त

काठमाडौँ । भोटेकोशी–त्रिशूली विपदमा बेपत्ता विदेशी नागरिकमध्ये १९ देशका ६२३ जनाको विवरण सम्बन्धित देशका निकायबाट प्राप्त भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राप्त विवरणमा सबैभन्दा धेरै भारतका २१३ जना रहेका छन् । चीनका ८५, अमेरिकाका ६९, युक्रेन र मलेसियाका ५४–५४, अस्ट्रेलियाका ३३, बेलायतका ३२ र क्यानडाका २७ जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको छ ।

त्यस्तै, रुसका ११, कोरिया र सिङ्गापुरका नौ–नौ, जर्मनीका आठ, दक्षिण अफ्रिकाका छ, फ्रान्सका चार तथा इटाली, हङ्गेरी, बेल्जियम र काजकिस्तानका दुई–दुई जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । बेलारुसका एक जना नागरिकको विवरण पनि प्राप्त भएको छ ।

प्राधिकरणका अनुसार लाट्भिया, जापान, न्युजील्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, इस्टोनिया, फिनल्यान्ड, इजरायल, लिथुआनिया, फिलिपिन्स, स्विडेन, स्वीट्जरल्यान्ड र भियतनामलगायतका देशबाट भने विवरण प्राप्त हुन बाँकी रहेको छ ।

प्राधिकरणका  प्रमुख कार्यकारी डा धर्मराज उप्रेतीले सम्बन्धित देशका निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता नागरिकको विवरण अद्यावधिक गरिरहेको जानकारी दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट बेपत्ता व्यक्तिलाई मृत्यु घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

समितिका अनुसार ४८ जिल्लाबाट एकिन भई आएका तीन हजार ९१५ नेपाली तथा सातवटा विदेशी नियोगबाट एकिन भई आएका ६२३ विदेशी नागरिकको विवरण प्राप्त भएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ ।

विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा प्राधिकरणले दाबी पेस गर्न दुई चरणमा सात दिने सूचना प्रकाशन गरेको थियो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्