खेलकुद

एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हरायो । नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ ।

जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए ।

उहाँले २६ बलमा सात चौका र एक छक्का हान्नुभयो । ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाउनुभयो । बलिङमा ओमानका समिर ओथामनले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाए । जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे ।

बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

पराजित ओमानले पनि यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ । उपाधिका लागि नेपालले मलेसिया र हङकङबिचको सेमिफाइनल विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्