राजनीति

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले पहिलो उद्धारकर्ताका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको दाहालले बताउनुभयो।

प्रधानमन्त्री शाहले नेपालले विपद्को सामना गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत व्यक्त गर्नुभएको ऐक्यबद्धता र सहयोगको प्रतिबद्धताप्रति पनि धन्यवाद व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यका विषयमा समेत चासो राख्नुभएको प्रेस विज्ञ दाहालले जानकारी दिनुभयो।

भेटका अवसरमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तयारी तीव्र पार्नुभएको सन्देश सुनाउनुभएको थियो। उहाँले भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको जानकारी गराउनुभएको थियो।

यसैगरी, ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको पनि विदेश सचिव मिस्रीले बताउनुभएको थियो।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी पनि उहाँले प्रधानमन्त्री शाहलाई गराउनुभएको थियो। उक्त मार्गमा आजै रेलको परीक्षणसमेत गरिएको विषयमा भारतीय विदेश सचिव मिस्रीले जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दाहालले जानकारी दिनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्