राजनीति

‘बिपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति उत्तिकै सान्दर्भिक’

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले ४९ वर्षअघि अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको नेताहरूले बताएका छन् ।

बिपी विचार राष्ट्रिय समाजले ४९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू भाग–२’ विमोचन समारोहमा नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङले अहिलेको राजनीतिमा मेलमिलाप उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

बिपीले ४९ वर्षअघि राष्ट्र र राष्ट्रियताकै लागि मेलमिलापको नीति लिई आठ आठ वटा मृत्युदण्ड हुन सक्ने मुद्दाको पनि परवाह नगरी स्वदेश फर्कनुभएको उहाँले स्मरण गर्नुभयो । अहिलेका सबै राजनीतिक शक्ति पनि राष्ट्र र राष्ट्रियताकै मुद्दामा एकजुट भएमा समस्या समाधान हुने काँग्रेस नेता गुरुङको भनाइ थियो ।

समाजका अध्यक्ष एवं काँग्रेसका पूर्व केन्द्रीय सदस्य विनयध्वज चन्दले २०४६ सालदेखि नै बिपीको विचारबाट काँग्रेस स्खलित हुँदै जाँदा देशमा अहिले समस्या आएको विचार राख्नुभयो । “सत्ताको राजनीति गर्न थालेपछि काँग्रेस निरर्थक हुन्छ भनी बिपीले भन्नुभएको विचारलाई अहिलेका काँग्रेसका पदाधिकारीले नबुझ्दा समस्या आएको छ”, उहाँले भन्नुभयो ।

पूर्व मन्त्री गोविन्दराज जोशीले बिपीको विचार छोडी गिरिजाप्रसाद कोइराला अघि बढ्नुभएकै कारण देशमा अहिलेको समस्या आएको बताउनुभयो । काँग्रेस नेता लोकेश ढकालले १२ बुँदे समझदारीपछि काँग्रेस सत्ता राजनीतितिर केन्द्रित हुँदा सिद्धान्त विमुख हुँदा देशमा समस्या आएको बताउनुभयो ।

छजना सहिदका विषयमा आज विमोचन गरिएको पुस्तकमा उल्लेख गरिएको उहाँले सुनाउनुभयो । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू भाग–२’ पुस्तकका सम्पादक डा वासुदेव खनालले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका छ जना योद्धाका बारेमा पुस्तकमा विभिन्न लेखकका लेख समावेश गरिएको जानकारी दिनुभयो ।

समाजको सातौँ प्रकाशनका रूपमा प्रकाशित पुस्तक २४७ पृष्ठको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.