एक्सक्लुसीभ

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। संविधानको धारा १६८(३) अनुसार ठूलो दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश जारी गरेको थियो।

मंगलबार सर्वोच्च आदेशको प्रतिलिपि पाएको जानकारी दिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभालाई विश्वासको मतका लागि बैठक बोलाउन आग्रह गर्दै पत्र पठाइसक्नुभएको छ। उपसभामुख काठमाडौंमा भएकाले बैठक बोलाउने समय निर्धारण उहाँको निर्णयमा निर्भर रहने यादवको भनाइ छ।

मुख्यमन्त्री यादवले अधिकांश दल विश्वासको मत दिन सकारात्मक देखिएको दाबी गर्नुभयो । “एक–दुई दलबाहेक सबैसँग वार्ता सकारात्मक छ । विश्वासको मत पाउनेमा म ढुक्क छु।” यादबको भनाई छ ।

कात्तिक २३ मा एमाले प्रदेश संसदीय दलका नेता हुनुभएका यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको एक होटलमा नै शपथ दिलाएपछि मधेसमा ठूलो राजनीतिक विवाद उत्पन्न भएको थियो।
नेपाल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत, लोसपा, जसपासहित ७ दल सर्वोच्च अदालत पुगेका थिए।
यही विवादकै कारण केन्द्र सरकारले प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो।

त्यसपछि सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको ‘आचरण विरुद्धको’ प्रस्ताव दुई तिहाइले पारित भएपछि मण्डल पनि पदमुक्त हुनुभयो।

विश्वासको मतका लागि आवश्यक संख्या
प्रदेशसभा कुल: 107
हाल कायम: 103 सदस्य
विश्वासको मत पारित गर्न आवश्यक: 53 मत
एमालेसँग २५ सांसदमध्ये २४ मत मात्रै छ, एक जना सांसद निलम्बित हुनुहुन्छ।

सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्रीले २४ घण्टाभित्र विश्वासको मत लिन नसकेमा संविधान धारा १६८(२) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.