एक्सक्लुसीभ

कांग्रेस बैठक : महाधिवेशन र निर्वाचन केन्द्रित हुनुपर्नेमा केन्द्रीय सदस्यको जोड

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्यले महाधिवेशन र निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा अधिकांश सदस्यले नियमित महाधिवेशनमा जानुपर्ने धारणा राख्नुभएको बताउनुभयो । उहाँले केही केन्द्रीय सदस्यले अहिले राष्ट्रिय निर्वाचनमा केन्द्रित हुनुपर्ने विषयमा समेत जोड दिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पार्टीमा जुन अधिवेशनको कुरा भएको छ । विशेष अधिवेशन अथवा नियमित अधिवेशनको विषय उठेको छ। अधिकांश साथीले नियमित अधिवेशनमा जानुपर्ने बताउनुभएको छ । निर्वाचनको मिति तय भएको हुनाले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिऔं त्यसपछि अधिवेशनमा जानैपर्छ भन्ने कुरा धेरै साथीले राख्नुभएको छ ।”

बैठकमा समग्रमा देशमा भएको संकटको स्थिति र यसबाट कसरी माथि उठ्ने भन्ने चासो, चिन्ता प्रकट भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार बैठकमा सरकारले प्रस्ताव गरेको निर्वाचनका लागि शान्ति, सुरक्षाको प्रत्याभूति हुन नसकेको तर यसलाई उपयोग गरेर सुरक्षाको स्थिती निर्माण होस् भन्ने धारणा नेताहरुले राखेका छन् ।

उहाँले भन्नुभयो, “संवैधानिक कुराहरु पनि उठेका छन् । पुर्नस्थापनाका कुरा, यसका सम्भावना कुराहरु पनि साथीहरुले बोल्नुभएको छ । त्यो समग्रमा, निर्वाचनको परिस्थिती बन्यो भने निर्वाचनमा जानुपर्छ भन्ने कुरा आएको छ ।”

आजको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यँदेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरु इन्द्रबहादुर बाँनिया (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा राख्नुभएको छ ।

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.