भोटेकोशी बाढी : खोज तथा उद्धार जारी
काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ता भएकाको खोजीमा खटिएको संयुक्त उद्धार टोलीले बुधबार चार वटा शव र एक मानवअङ्ग फेला पारेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनाको सुरुङको ब्रेकथ्रु गरी अन्तिम किनारसम्म खोजी गर्ने क्रममा शव तथा मानवअङ्ग फेला परेको नेपाली सेनाले जनाएको छ ।
यसअघि भदौ १५ गते पनि उक्त सुरुङमा एक शव र एक मानवअङ्ग फेला परेको थियो ।
बुधबार गोताखोरसहितको टोली प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
फेला परेका शव र मानवअङ्ग सेनाको हेलिकोप्टरबाट नुवाकोटको त्रिशूली ल्याइएको सेनाले जनाएको छ ।
बाढीपछि बेपत्ताको खोजी र उद्धारसँगै प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने काम पनि अघि बढाइएको छ ।
नेपाली सेना तथा सम्बन्धित निकायले पहुँचमार्ग निर्माण, भग्नावशेष हटाउने, वैकल्पिक आवागमन सञ्चालन तथा क्षतिग्रस्त संरचना व्यवस्थापनको कामलाई सँगसँगै अघि बढाएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सरकारको निर्देशन अनुसार खोज तथा उद्धारसँगै पुनर्स्थापना र पुनर्निर्माणका काममा पनि सेना परिचालित भएको बताउनुभयो ।
उहाँका अनुसार नुवाकोटको देवीघाटस्थित तादीखोलामा बेलिब्रिज निर्माण भइसकेको छ । रसुवाको स्याफ्रुबेँसीमा भोटेकोशीमाथि तुइन जडान गरी आवतजावतसमेत सुरु गरिएको छ ।
बाढीका कारण सडक तथा पुलमा क्षति पुगेर सम्पर्कविहीन बनेका क्षेत्रमा वैकल्पिक पहुँच निर्माणलाई प्राथमिकता दिइएको छ ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ, पावरहाउस तथा आवास क्षेत्रमा नेपाली सेना र विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी जारी राखेको छ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले सुरुङभित्र खोजी कार्य जारी राखेका छन् ।
त्यसै गरी लामटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले खोजी गरिरहेको छ ।
त्रिशूली थ्री ‘ए’ को सुरुङ तथा पावरहाउस क्षेत्रमा पनि खोजी जारी छ । त्रिशूली थ्री ‘बी’ आयोजनाको आवास क्षेत्रमा गरिएको खोजीमा दुई वटा आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ ।
सेनाले रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत जमिनी खोजीलाई पनि निरन्तरता दिएको छ ।