राजनीति

राहदानी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सभामा परराष्ट्रमन्त्री शिशिर खनालले विचार गरियोस् भनि प्रस्तुत गर्नुभएको राहदानी (पहिलो संशोधन) विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी गराउनुभयो ।

विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री खनालले प्रस्तावित विधेयकले विदेशमा रहेका नेपाली सन्तानलाई विदेशी भूमिमा पहिचान र राज्य विहीन बन्नबाट जोगाउने तथा विदेशमा अलपत्र परेका, उद्धार गर्नुपर्ने र राहदानी म्याद सकिएकाहरूका लागि अस्थायी राहदानीको कानुनी बाटो खोल्ने स्पष्ट पार्नुभयो ।

विधेयकमाथिको छलफलमा सांसदहरुले राहदानी व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधिमैत्री बनाउनुपर्ने, अस्थायी राहदानी दिने निश्चित समयसिमा तोक्नुपर्ने तथा संविधानले महिला र पुरुषलाई समान अधिकार दिएकाले पुरुषले स्वघोषणा गर्नुपर्ने र महिलाले स्वघोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था राख्न नहुनेमा जोड दिनुभयो ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी (पहिलो संशोधन ) विधेयक, २०८३ माथि संशोधन राख्न चाहने सांसदहरुले संघीय संसद् सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनुभयो ।

यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन २०८१ ÷२०८२ सदनमा पेस गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली दिउसो १ बजे बस्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्