राजनीति

गुट-उपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिनुभएको छ । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उहाँले गुट उपगुटले पार्टीलाई माथि नलैजाने बताउनुभयो । 

सभापति लामिछानेले भन्नुभयो, “हामीले पनि गुटउपगुट बनायौँ भने हामीबाट आउने परिणाम पनि पुराना पार्टीको जस्तै हुन्छ । फरक आउँदैन । फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।” महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “५२ लाख जनताले विवेक प्रयोग गरेर हामीलाई जिताउनुभयो, त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्छ ।”

प्रतिनिधि चयन गर्दा विवेकपूर्वक गरिएको उहाँको भनाइ थियो । प्रतिनिधिहरूले तिरेको रु पाँच हजार ऐच्छिक बनाइएको भन्दै उहाँले त्यही पाँच हजार आवश्यक परे फिर्ता लैजान सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “तपाईँले तिरेको रु पाँच हजार चाहेमा फिर्ता लिन सक्नुहुने छ । यति दिन बस्दा खर्च धेरै भएको छ, सक्नेले आफ्ना साथीको तिरिदिन्छु भन्नुभयो भने राम्रो हुन्छ ।”

महाधिवेशन निर्वाचनको सन्दर्भमा उहाँले जसले जिते पनि घण्टीवाहकले जित्ने विश्वास व्यक्त गर्नुभयो । सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो । उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउनुभयो ।

पार्टीभित्र हुने सामान्य असन्तुष्टि र मनमुटाबलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सडक वा मैदानमा लगेर तमासा नबनाउन प्रतिनिधिलाई सचेत गराउनुभयो । रास्वपा आफ्ना सबै मतभेद अन्त्य गर्न सक्ने पार्टी भएको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै उहाँले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो ।

बन्दसत्रको उद्घाटन मन्तव्य पार्टी सभापति लामिछानेले दिएपछि बन्द सत्रका औपचारिक कार्यक्रमहरू सुरु भएका छन् । आजै बन्द सत्र सम्पन्न गरेर निर्वाचनका कार्यक्रम अघि बढाउने तयारी छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.