नेपाल

भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

सल्यान। पश्चिम सल्यानस्थित भेरी नदीमा बोलेरो जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

बुधबार दिउँसो करिब २ बजे वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डमा बालुवासङ्ग्राहीबाट सल्लिबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जिप नदीमा खसेको हो। चालकसहित चार जना सवार बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका वनगाड कुपिण्डे नगरपालिका–१ आँपखोली निवासी २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीलाई उपचारका लागि सल्ली सिटी अस्पताल सल्लिबजार लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। विकको नाक र शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको देब्रे खुट्टामा चोट लागेको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनामा परेका अन्य दुई जना जिपसहित नदीमा बेपत्ता भएका छन्। बेपत्ता व्यक्तिहरूको पहिचान अझै खुल्न सकेको छैन।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवस्थल, प्रहरी चौकी वनगाड, इलाका प्रहरी कार्यालय रागेचौर र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीको कमान्डमा ३० जनाको नेपाल प्रहरी टोली परिचालन गरिएको छ। साथै सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर सल्यानका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज गुरुङको कमान्डमा ११ जनाको टोलीसमेत खटिएर भेरी नदीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुर्खेतबाट सशस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाउने गरी समन्वय भइरहेको प्रहरीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्