म्याग्दीको पहिरोमा पुरिएकी एक महिलाको उद्धार, वृद्धको मृत्यु
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ।
मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार टोली तथा स्थानीयवासीको सहयोगमा धारापानीस्थित तल्लो हाडेभिरमा घरमाथिबाट खसेको पहिरोले पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको हो। उद्धारपछि उहाँलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।
पहिरो खसेर थापा घरभित्र पुरिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र स्थानीयको संयुक्त उद्धार टोलीले उहाँलाई सकुशल बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो।
यसैगरी पहिरोमा परी बेनी नगरपालिका–३, भकिम्ली चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ। सोमबार बिहान गएको पहिरोले घर पुरिँदा सुतिरहेका अवस्थामा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण प्रभावितको उद्धार तथा क्षतिको विवरण संकलनका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो। उहाँका अनुसार अवरुद्ध बनेको बेनी–जोमसोम सडक र बेनी–दरबाङ सडक खुलाउने प्रयास भइरहेको छ।