खेलकुद

एसियाड तयारीका लागि बक्सिङका ७ खेलाडी सोमबार भारत जाँदै

काठमाडौं । बक्सिङले २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ ।

जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा ४ पुरुष र ३ महिला मुक्केवाजले नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्ने छन् । महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुने छन् ।

खेलाडीले स्पोर्ट्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन प्रशिक्षण तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तले जनाएका छन् । टोली त्यत्तैबाट जापान जाने छ ।

रविन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो । रविनले १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । चन्द्र सन् २०२५ मा दुबइमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता पनि हुन् । चन्द्रको कांस्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठूलो हो ।

प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन् । व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी रहेका छन् । भण्डारी पछि भारत जाने छन् ।

एसियाली खेलकुदमा समग्रमा बक्सिङले ३ फरक संस्करणमा हालसम्म ६ कांस्य पदक जितेको छ । बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १० औं संस्करणमा पहिलोपटक पदक जितेको थियो ।

त्यसबेला दलबहादुर राना मगर, तुलबहादुर थापा, सुशिल पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य पदक जितेका थिए । बाँकी २ संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११ औं संस्करणमा चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६ औं एसियाडमा हालका टोलीका प्रशिक्षक मध्येका दीपकले नेपाललाई कांस्य पदक दिलाएका थिए । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं संस्करणदेखि बक्सिङ पदकविहीन छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्