खेलकुद

एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जादै

काठमाडौं । प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् । घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणमा छन् । घनश्याम हरियाणामै छन् भने बाँकी ३ खेलाडी हिमाचल प्रदेशमा छन् । उनीहरु त्यत्तैबाट टिमसंग समावेश हुने छन् ।

प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जाने छन् ।

खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा १ महिना प्रशिक्षण गर्ने छन् । त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

‘यदि चाइनिज ताइपेइ पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ । त्यहाँ हामीसहित ३ राष्ट्रको अभ्यास खेल हुन्छ । ताइपेइ थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तरप्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौं । भारतमा विभिन्न स्थानिय टोलीसंग अभ्यास खेल पनि खेल्छौं ।’ तयारी बारे स्पष्ट पार्दै महासचिव झाले भने ।

टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छ । एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौं सहभागिता हुनेछ । यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।

नेपाली महिला कबड्डीले पनि २० औं एसियाली खेलकुदमा सहभागिता जनाउने छ । महिला टोली दोश्रोपटक सहभागी हुन लागेको हो । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो । पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्