एक्सक्लुसीभ

दशकौ देखि प्यास मेट्दै आएको धारा सुक्न थालेपछि रामा गाउँमा खानेपानीको हाहाकार

स्थानीयका अनुसार वर्षौंदेखि भरपर्दो मानिएको पानीको स्रोत नै सुक्न थालेपछि भविष्यमा समस्या अझ विकराल बन्ने चिन्ता बढेको छ । समयमै वैकल्पिक खानेपानीको व्यवस्था नगरिए गाउँका ५५ घरधुरी र विद्यालयका १९० विद्यार्थीले थप सास्ती बेहोर्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ ।

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका–३ को रामा गाउँमा खानेपानीको समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको छ ।

५५ घरधुरी रहेको रामा गाउँमा पानीको एक मात्र भरपर्दो स्रोतका रूपमा रहेको धारा नै सुक्न थालेपछि स्थानीयवासी र विद्यालय दुवै प्रभावित भएका छन् ।

दशकौँदेखि गाउँलेले यही धाराको पानी प्रयोग गर्दै आएका थिए । तर पछिल्ला वर्षहरूमा धारामा पानीको मात्रा घट्दै जाँदा बिहानैदेखि पानीको पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

स्थानीय गोर्खबहादुर शाहीका अनुसार आफू ६० वर्षको हुँदासम्म यो धारा कहिल्यै नघटेको सम्झना छैन । तर अहिले पानी लिन बिहानै पानी थाप्ने भाँडा लाइनमा राखेर पालो कुर्नुपर्ने बाध्यता रहेको छ । यही धाराको पानीमा गाउँको दैनिक जीवन निर्भर रहेकाले स्थानीयवासी थप चिन्तित बनेका छन् ।

खानेपानी सङ्कटको प्रत्यक्ष असर गाउँमै रहेको रामदेव आधारभूत विद्यालयमा पनि परेको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीलाई पिउने पानी उपलब्ध गराउन कार्यालय सहयोगी नन्दादेवी शाहीले दैनिक ग्यालेनमा पानी बोकेर ल्याउने गरेको बताउनभयो ।

विद्यालयले पहिले प्रयोग गर्दै आएको खानेपानीको मुहान पूर्ण रूपमा सुकेपछि अहिले गाउँकै धारामा निर्भर हुनुपरेको छ । विद्यालयबाट धारासम्म पुग्न २० देखि २५ मिनेट लाग्ने भएकाले पानी ल्याउनमै धेरै समय खर्चिनुपर्ने अवस्था छ ।

स्थानीयका अनुसार वर्षौंदेखि भरपर्दो मानिएको पानीको स्रोत नै सुक्न थालेपछि भविष्यमा समस्या अझ विकराल बन्ने चिन्ता बढेको छ । समयमै वैकल्पिक खानेपानीको व्यवस्था नगरिए गाउँका ५५ घरधुरी र विद्यालयका १९० विद्यार्थीले थप सास्ती बेहोर्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ ।

स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल दीर्घकालीन खानेपानी आयोजना निर्माण गरी सुरक्षित र नियमित खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्