काठमाडौँ । चलचित्र ‘जलाकी’ मंसिर ४ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्रका दुई पोष्टर रिलिज गर्दै प्रदर्शन मितिबारे जानकारी दिइएको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । दुवै पोस्टरले प्रेमकथालाई फरक भाव र मनोविज्ञानबाट प्रस्तुत गरेको छ ।
‘जलाकी’ले मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक अशोक थापा मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा चलचित्रमा प्रस्तुत गरिएको बताए ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
चलचित्रमा ओम घर्ति मगर, बीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीको लगानी रहेको छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना र एसडी योगी, अन्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीतान्जली थापा मगरको स्वर छ ।